Skip to content
Shikhar Insurance
National Life

पार्टीको लागि भन्दा पनि विकासको लागि काम गर्छुः चन्द्रपुरका मेयर उम्मेदवार दाहाल (अन्तरवार्ता)

Hyundai
NCELL
NIMB

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका पूर्वपश्चिम राजमार्गले छोएको मधेस प्रदेशकै प्रख्यात नगरपालिका हो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला पनि हो रौतहट । सदरमुकाम गौर नगरपालिका, मध्ये रौतहटमा पर्ने व्यापारिक क्षेत्र गरुडा नगरपालिका भन्दा चन्द्रपुरले छुट्टै पहिचान बनाएको छ ।

स्थानीय निकायको निर्वाचन नजिकिंदै गर्दा चन्द्रपुरको नतिजा कस्तो आउला भनेर चासोका साथ हेरिएको छ । यो नगरमा कोही कसैसँग गठबन्धन भएको छ । सबै एक्लाएक्लै मित्रवत प्रतिष्पर्धा गरिरहेका छन् ।

सबैमाझ चर्चित रहेका बाबुराम दाहाल नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयर पदको प्रतिष्पर्धामा छन् । उनै दाहालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

तपाईँले मेयर पदमा उम्मेदवारी दिनु भएको छ, तपाईँको उम्मेवादी खास के का लागि हो ?
पहिलो कुरा त हाम्रो उम्मेदवारी स्थानीय सरकारलाई हाम्रो संविधानले जसरी परिभाषित गरेको छ, सोही अनुसार कार्यान्वयन गराउनका लागि हो । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको भूमिकालाई मिलाएर लान हामीले उमेद्वारी दिएका हौं । यो चन्द्रपुर नगरपालिकालाई समृद्ध बनाउन यहाँको स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा योजनाबद्ध ढंगले काम गर्न हामी आएका हौं । हामीसँग स्पष्ट योजना भएका कारण पनि हामी हाम्रो पार्टी ‘कलम छाप’को नेतृत्व निर्वाचित हुनुपर्छ भनेर हामी लागेका छौं ।

चन्द्रपुरलाई समृद्ध बनाउने, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद लगायतका क्षेत्रको विकास गर्ने त सबै उम्मेदवार भन्नुहुन्छ, तपाईँका मुख्य योजनाहरु चाँही के–के छन् ?
हाम्रा तीन मुख्य योजनाहरु छन् । अहिले यहाँको स्वास्थ्यको अवस्था जटिल छ । भएको सरकारी अस्पतालको पनि सेवा राम्रो छैन । त्यसको सेवा सुधारका लागि मेयरको भूमिका निकै ठूलो हुन्छ । हामीले ६ महिना भित्र विशेषज्ञसहितको अस्पताल बनाउने, क्षमतावान शिक्षक सरकारी विद्यालयमा नियुक्त गर्ने, चन्द्रपुरको परिवेश अनुसार भौतिक पूर्वाधारको विकास गर्नेछौँ । वर्गीय हिसाबले गरिबकालागि पनि हामी काम गर्छौँ । यो भूमि उर्वर भूमी पनि हो । यहाँ व्यवसायिक खेती र पशुपालन सम्भव छ । त्यस्ता व्यवसायीलाई स्थानीय सरकारले सघाउन जरुरी छ । हामीले त्यहाँ दिनुपर्ने अनुदान दिन्छौं, वडा नम्बर पाँचमा भूमिगत सिँचाईको व्यवस्था गर्छौँ । सबैतिर बाग्मती सिचार्इँको पानीले काम गर्दैन । हामीले हाम्रो अधिकार क्षेत्रको राम्रो प्रयोग गर्छौँ । सुकुम्बासीहरुको व्यवस्थापन पनि हामी गर्छौं । प्रदेश र स्थानीय मात्र नभई केन्द्रीय सरकारले पनि यसमा सघाउन जरुरी छ । भूमिहीन र सुकुम्बासीले फर्म भर्नु भएको छ, उहाँहरुलाई हामीले सघाउनु छ ।

चन्द्रपुरको दशै वडाको अवस्था एकैखालको छैन, भौगोलिक, जातजाती वसोबास, धर्मसंस्कृतिको विविधता छ, तपाईँ निर्वाचित हुनु भयो भने समग्र विकास निर्माणका कामलाई के कसरी अगाडि बढाउनु हुन्छ ?
यहाँ बहुभाषिक, बहुधार्मिक नागरिकहरु हुनुहुन्छ । हामी उहाँहरुको समानुपातिक विकासका लागि काम गर्छौं ।

तपाईँ एकीकृत समाजवादीको तर्फबाट मेयर पदको उम्मेदवार, तपाईँहरुको संगठन बलियो छैन भनिन्छ, तपाईँसँग चुनाव जित्ने आधार के छ ?
संगठनको कुरा अन्त लागू हुनसक्छ, तर रौतहतटमा र चन्द्रपुरामा सो कुरा गलत हुन्छ । यहाँ हाम्रो अवस्था राम्रो छ । म विश्वास दिलाउन चाहान्छु कि हाम्रो जीत निश्चित छ ।

विगतमा नेकपा एमाले एउटै हुँदा समेत चन्द्रपुरमा तपाईँहरुले जीत निकाल्न सक्नु भएको थिएन, अहिले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु भएको छ, जीतप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
सांगठनिक हिसाबले हाम्रो उपस्थिति र सक्रियता दशैवटा वडामा छ । हामी मेहेनत गर्न तयार छौं । अरु फरक पार्टीका मान्छे पनि काम गर्ने मान्छेको खोजीमा छन् । व्यापारी, विद्यार्थी र बौद्धिक वर्गले मलाई सर्मथन गर्नु भएको अवस्था छ । अहिले सबै जनालाई मैले पार्टीको लागि भन्दा पनि विकासको लागि काम गर्छु भनेको छु । मैले काम प्राथमिकताको आधारमा गर्छु र नेतृत्वको अपनत्व सबैलाई गराउनेछु । यो कुरा अहिले चोक र चिया पसलमा हुने राजनीतिक गफमा पनि सुन्न सकिन्छ ।

केन्द्रीय स्तरमा गठनबन्धनको सरकार छ, स्थानीय तहको निर्वाचनमा पनि देशैभर गठबन्धन गर्ने निर्देशन थियो, चन्द्रपुरमा चाँही किन त्यो संभव भएन नि ? के भन्नुहुन्छ ?
चन्द्रपुरमा प्रयास नगरिएको होइन, तर गर्दागर्दै पनि गठबन्धन सम्भव भएन । हामी अब आफ्नो–आफ्नो हिसाबले चुनाव लड्ने र मित्रवत प्रतिस्पर्धा निष्कर्षमा पुग्यौँ । निर्वाचनमा हारे पनि जिते पनि हामीले जनाताको काम गर्ने हो । त्यसैले हारे पनि जिते पनि पक्ष विपक्ष दुवैको लागि काम गर्न सक्नु पर्छ ।

तपाईँहरु विभिन्न पार्टीबाट एक्लाएक्लै उम्मेदवार हुनुभएको छ ? चन्द्रपुरका जनताको नजरमा अरु उम्मेदवार भन्दा तपाईँ के कारण अब्बल हुनुहुन्छ ?
पहिलो कुरा म राजनीति र समाजसेवा दुवैमा छु । विद्यालय व्यवस्थापनदेखी, फुटबल खेलाडीदेखि अन्य सामुदायिक वन महासंघको जिल्ला अध्यक्ष, जनज्योति बहुमुखी क्याम्पसमा पनि म आवद्ध छु । क्याम्पसका कर्मचारीले तलब नपाएको अवस्थमा हामीले तलब दिने बनायांै, १८ वटा नयाँ सटर पनि थप्यौं । मैले विभिन्न संघसंस्थामा गरेको नेतृत्वबाट म अब्बल साबित भएको यहाँका जनताहरुले राम्ररी अनुभव गर्नु भएको छ । अरु पार्टीका प्रतिष्पर्धीहरुले केही न केही गर्नु भएकै छ, तर आम सर्वसाधारणको बुझाइमा नगरपालिकालाई सवल ढंगले चलाउने ल्यागत बाबुराम दाहालमा मात्रै छ भने बुझाई छ, नपत्याए तपाईँले स्थानीय स्तरमा जनमत पनि बुझ्न सक्नुहुन्छ ।

काँग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवार पनि मेयरका प्रतिष्पर्धी हुनुहुन्छ, तपाईँको खास प्रतिष्पर्धा चाँही कुन पार्टीका उम्मेदवारसँग हुने आँकलन गर्नु भएको छ ?
हामी घरदैलोमा हिडिरहेका छौं । अहिले चन्द्रपुर नगरपालिकालागि कलम चिन्ह र बाबुराम दाहालको नाम लिइहरनु भएको छ । हामी कडा प्रतिस्पर्धामा छौं । यही सन्र्भमा धेरै ठूलो अन्तरको हार जित हुँदैन ।

चुनाव हो, जालझेल, साम, दाम, दण्ड, भेद सबैको प्रयोग हुने गर्छ, यसले गर्दा वादविवादहरु पनि हुन सक्छन्, यस्तो परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने विचार गर्नु भएको छ ?
मैले सबै साथीहरुलाई संर्घषबाट पाएको उपलब्धिलाई झै झगडामा परिणत नगरौं भनिरहेको छु । हामी मित्रवत प्रतिस्पर्धा गर्छौं । आजको दिनसम्म हामी मित्रवत ढंगले अघि बढेका छौं, हामी यही रुपमा अघि बढ्छौं । बैरभाव साध्ने र दुस्मनीे गर्दैनौ, गर्नु हुन्न भनेका छौं ।

रौतहटको चन्द्रपुरलाई पूर्वप्रधानमन्त्री तपाईँहरुको पार्टीका अध्यक्ष माधव नेपालको गृहनगरका रुपमा पनि हेरिन्छ, यो निर्वाचनले चन्द्रपुरमा माधव नेपालको शाख जोगिएला ? परिस्थिति सारै जटिल छ भन्छन्, तपाईँलाई के लाग्छ ?
पूर्व प्रधानमन्त्रीको गृह नगरको रुपमा चन्द्रपुर परिचित छ । हामीलाई उहाँको नाम जोडिंदा निकै गर्व लाग्छ । उहाँले धेरै मेहनत गर्नु भएको छ । अस्ति उहाँ आउनु भयो, अब फेरी आउने पनि कुरा छ । अहिले हाम्रो भन्दा पनि राम्रोलाई नै जिताउनु पर्छ भन्नेमा सबैजना हुनुहुन्छ भन्ने हो । मैले अन्य राजनीतिक दलका साथीका कुरा पनि सुनिरहेको छु, उहाँहरुको राम्रो कुरा म पनि सिक्छु ।

तपाईँले आफू र आफ्नो पार्टीले चुनाव जित्ने कुरा गरिरहँदा कति मतान्तरले चुनाव जित्नु हुन्छ, केही आँकलन गर्नु भएको छ ?
समग्र रुपमा हेर्दा हामी दुई वडा बाहेक आठ वटा वडामा राम्रो छौं । अहिले १० वटा वडामा हामी आठ ओटामा राम्रो हुनु पनि राम्रो हो । हामी दुई हजारदेखि २५ सय मत अन्तरले विजयी हुन्छौं । दश वडामा हाम्रो बहुमत आउने सम्भावना छ ।

बैशाख ३० गते निर्वाचनको दिन आउन अब धेरै दिन बाँकी छैन, अन्त्यमा तपाईँका आम मतदाताहरुलाई केही भन्न चाहानु हुन्छ ?
म आम मतदातालाई के अनुरोध गर्छु भने अहिले उम्मेदवार त धेरै जना तपार्इँको घरमा आउनु भएको छ । स्वास्थ्य राम्रो बनाउनेका कुरा गरे भने तपाईँको बुबा आमा कहाँ छन ? शिक्षा राम्रो बनाउने भन्नेलाई तपाईँका छोराछोरी कहाँ छन् ? भनेर प्रश्न गर्नु होला । हिजो यहीको सामुदायिक विद्यालय ध्वस्त पार्नेहरु अहिले विद्यालय राम्रो पार्ने भनिरहेका छन् । स्थानीय सरकारले दिएको ऐन कानुनको प्रयोग नगर्नेहरुलाई पाँच वर्षका लगि समय खेर जान भोट दिने होइन । अहिले मतदाताले निधार खुम्च्याएर सोचेर मत दिनु आवश्यक छ । अहिले ठूलो संख्यामा मतदाता हुनुहुन्छ । पचास प्रतिशत मतदाता युवाहरु हुुनुहुन्छ । युवाहरुले ‘कलम छाप’ मा विश्वास गर्नु भएको हामीले पाएका छौं । म मतदाताहरुलाई उहाँहरुले दिएको भोट खेर नजाने हिसाबले काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहान्छु ।

अहिले दिएको भोटले भविश्य निर्धारण गर्ने भएकाले मतदाताले आफूले दिएको भोट आफ्नै लागि हो भनेर सोचिदिनु होस् भन्ने पनि आग्रह गर्न चाहान्छु । र, अन्त्यमा चन्द्रपुरवासीले कलम छापमा भरोसा गर्नु भएको कुरा हामीलाई थाहा छ । उहाँहरुको भरोसालाई पूरा गर्न हामीले मेहनत गर्ने छौं । अझै निर्वाचनका लागि केही दिन बाँकी नै छ । म सबै आम मतदाताहरुलाई हाम्रोलाई भन्दा पनि राम्रोलाई भोट हाल्नुस् भन्न चाहान्छु । त्यसका लागि ‘कलम छाप’ ले तपार्इँहरुको साच्चै हित गर्ने कुरा पनि भन्न चाहान्छु ।

GBIME

प्रतिक्रिया दिनुहोस्