काठमाडौं । दोस्रो बजारमा प्रतिकित्ता साढे ५ हजार रुपैयाँसम्म मूल्य पुगेको जीवन विकास लघुवित्त संस्थाको सेयर ८ जनाले सय रुपैयाँमै खरिद गर्न पाएका छन् । संस्थाकै पदासीन केही संस्थापकहरुको चलखेलले गर्दा साढे ५ हजार रुपैयाँको सेयर कौडीको भाउमा खरिद बिक्री भएको हो ।
संस्थाको साधारण सेयर गत साउनदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको हो । दोस्रो बजारमा कारोबार शुरु भएको ३ महिना पुग्न नपाउँदै जीवन विकास लघुवित्तको सेयर मूल्य साढे ५ हजार रुपैयाँसम्म पुगेको थियो । पछिल्लो समय संस्थाको सेयर कारोबार समेत ५ हजार रुपैयाँकै हाराहारीमा भइरहेको छ ।
यसरी दोस्रो बजारमा उच्च मूल्यमा साधारण लगानीकर्ता संस्थाको सेयर खरिद बिक्री गर्दा संस्थाकै संस्थापकहरुले भने करिब ५ लाख कित्ता संस्थापक सेयर १ सय रुपैयाँमै खरिद गर्न पाएका छन् । साधारणतय दोस्रो बजारमा संस्थापक सेयर कारोबार हुँदा साधारण सेयरको मूल्यभन्दा ५० प्रतिशत क्रममा कारोबार हुने प्रचलन छ ।
जसअनुसार जीवन विकासको संस्थापक सेयर साढे २ हजार रुपैयाँसम्म खरिद बिक्री हुनु पर्ने थियो । तर, संस्थाको ८ जना संस्थापकहरुले ४ लाख ७८ हजार ३३८ कित्ता संस्थापक सेयर प्रतिकित्ता १ सय रुपैयाँमै खरिद गरेका हुन् ।
पदासीन संस्थापकको सेयर चलखेलले ८ लगानीकर्तालाई बम्पर उपहार
गत आर्थिक वर्ष नै संस्थाका पदासीन केही संस्थापकहरुले गैरकानुनी रुपमा सेयर खरिद गरेको नेपाल राष्ट्र बैंकले स्थलगत अनुगमनको क्रममा भेटेको थियो । राष्ट्र बैंकको संस्थागत सुशासन सम्बन्धि व्यवस्थाअनुसार सो हकप्रद सेयर पदमा रहेका संस्थापकहरुले पदमा हुँदा वा पदबाट हटेको १ वर्षसम्म सेयर खरिद बिक्री गर्न पाउँदैनन् ।
तर, संस्थाका सीईओ सञ्जयकुमार मण्डल र पूर्व सीईओ योगेन्द्र मण्डल लगायत उच्च व्यवस्थापनका कर्मचारीले पौने ५ लाख कित्ता सेयर नियम विपरित खरिद गरेका थिए । जसलाई निमयसंगत गर्न राष्ट्र बैंकले गत असोज मै निर्देशन दिएको थियो । गैरकानुनी रुपमा खरिद गरिएको सेयरलाई राष्ट्र बैंकले फेस भ्याल्लुमै बिक्री गर्न निर्देशन भएपछि बिक्री प्रबन्धक तोकेर संस्थाले संस्थापक सेयर खरिदको लागि बोककबोल आह्वान गरेको थियो ।
जसमा ८ जना संस्थापकले आवेदन दिएको र उनीहरुलाई नै सेयर ट्रान्सफर गरिएको संस्थाका डेपुटी सीईओ दामोदर रेग्मीले जानकारी दिए । संस्थाले पहिलो पटक गरेको बोलकबोल आह्वान प्रक्रिया नियम संगत नभएको भन्दै राष्ट्र बैंकले बिक्री प्रबन्धक, सेयर मूल्य लगायत तोकेर सुचना प्रकाशित गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार संस्थाले गत पुस ९ गतेदेखि माघ १३ गतेसम्मको समय दिएर बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवेदन पेश गर्न संस्थापक लगानीकर्तालाई आह्वान गरेको थियो । संस्थाले उक्त सेयर सेटलमेन्टमा पहुँचवाला संस्थापकलाई मात्र प्रतिस्पर्धामा राखेको आरोप समेत केही लगानीकर्ताहरुले लगाएका थिए ।
नियामकिय डण्डापछि साढे ४ हजार रुपैयाँको सेयर १ सयमा बेच्दै जीवन विकास लघुवित्त
तर, बिक्री प्रबन्धमा खुल्ला रुपमा आएको सम्पुर्ण आवदेनलाई नै राष्ट्र बैंकको निर्देशन अनुसार सेयर ट्रान्सफर गरिएको डेपुटी सीईओ रेग्मी बताउँछन् ।
‘पहिलो पटकको आह्वानमा ७/८ जनाले मात्र आवेदन दिनु भएको थियो, पछिल्लो पटक समेत उहाँहरु बाहेक कसैले आवेदन नै दिएनन्,’ संस्थाका डेपुटी सीईओ रेग्मीले सिंहदरबारसँग भने, ‘अरु लगानीकर्तालाई मौका दिइएन भन्ने आरोप मात्र हो, बिक्री प्रबन्धकमा आएर आवेदन दिन नपाउने भन्ने नै हुँदैन ।’
राष्ट्र बैंकको निर्देशनअनुसार दोस्रो पकट बिक्री प्रबन्धक नै राखेर आह्वान १ महिनासम्मको लागि आवेदन खुला गर्दा समेत नयाँ आवेदन नपरेको उनको भनाइ छ ।
‘बिक्री प्रवन्धक पब्लिक कम्पनी हो, सेयर खरिदको लागि जसले पनि आवेदन दिन सक्छन् तर पहिलो पटक आवेदन दिएकाहरुले मात्रै दोस्रो पटक आवेदन दिएका थिए,’ उनले थपे, ‘हामीले उनीहरुलाई नै प्रकृया पुरा गरी राष्ट्र बैंकमा सेयर ट्रान्फरको लागि पठाएका थियौं । करिब ढेड महिना अघि उहाँहरुको खातामा सेयर ट्रान्सफर भइसकेको छ ।’
यसअघि संस्थाले पुँजी वृद्धिको लागि संस्थापकहरुका लागि हकप्रद सेयर जारी गरेको थियो । जुन पदमा नरहेका संस्थापकहरुले मात्र खरिद गर्न पाउँथ्ये । तर, बाहिरका संस्थापकले हकप्रद खरिद नगरेको भन्दै सीईओ, पुवै सीईओ र सञ्चालक र उच्च व्यवस्थापनका कर्मचारीहरुले सो हकप्रद खरिद गरेका थिए ।
‘राष्ट्र बैंकले तोकेको क्यापिटल एडुकेसी पुर्याउन हामीले कल इन एड्भान्समा पैसा राखेका थियौं, मर्जरको हकमा त्यसलाई क्यापिटलाइज गर्न मिल्ने नीति ल्याएको थियो तर केही प्रकृया गत त्रुटी भएपछि प्रक्रिया सुधार गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो,’–उनले भने ।
संस्थाले राष्ट्र बैंकको निर्देशन अनुसार त्रृटी गरिएको प्रक्रिया सुधार गरी तोकिएको संस्थापक सेयरको खरिद बिक्री प्रकृया सम्पन्न भइसकेपछि संस्थाले ७३ प्रतिशत लाभांश समेत घोषणा गरिसकेको छ ।
प्रतिकित्ता ५ हजार रुपैयाँको सेयर कौडीको भाउमा यसकारण बाँडियो
संस्थाको नेप्सेमा संस्थाको ४१ लाख ६ हजार ७ सय संस्थापक र १९ हजार ७७ हजार ३ सय कित्ता साधारण सेयर सुचीकृत भएको हो । तर, सस्थापक सेयरको कारोबारका लागि भने समय नपुगेको हुँदा राष्ट्र बैंकले तोकेकै बिक्री मूल्यमा पौने ५ लाख संस्थापक सेयर बिक्री गरिएको उनले जानकारी दिए ।
‘राष्ट्र बैंकले सो समयमा तोकेको क्यापिटल एडुकेसी पुर्याउन कल इन एड्भान्समा करिब २१ करोड रुपैयाँ राखिएको थियो, जसलाई फेस भ्याल्लु अर्थात् प्रतिकित्ता १ रुपैयाँ नै अंकित गरी सेटलमेन्ट गरिएको हो,’ उनले भने, ‘यसमा कसैले चाहेर पनि १ सय १ रुपैयाँमा खरिद गर्न सक्ने अवस्था थिएन ।’
राष्ट्र बैंकले नै १ सय रुपैयाँमै सेटलमेन्ट गर्नु निर्देशन दिएको हुँदा ८ जना पदासीन संस्थापकहरुको सेयर ८ जना नै पदमा नरहेका संस्थापकहरुको खातामा ट्रान्सफर गरिएको उनले जानकारी दिए ।
दोस्रो बजारमा जीवन विकासको संस्थापक सेयर खरिद बिक्री सुरु भएको छैन । तर, पुरानो सेटलमेन्ट मिलाउनको लागि मात्र संस्थाले बिक्री प्रबन्धक तोकि पौने ५ लाख संस्थापक सेयर बिक्री गरेको हो । दोस्रो बजारमा संस्थाको संस्थापक सेयरको कारोबार २ वर्ष पछि मात्र शुरु हुने रेग्मी बताउँछन् ।

जीवन विकास लघुवित्तको सेयरमा घोटालाः सीईओ र पूर्व सीईओले नियमविपरित खरिद गरे सेयर
राष्ट्र बैंकको निर्देशन विपरित सेयर खरिद बिक्री गर्ने जिवन विकास लघुवित्त कारवाहीमा
प्रतिक्रिया दिनुहोस्