काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले यस्तो बताएका हुन् ।
उनले बिआरआई परियोजनाबाट नेपालमा बनेका रेल,सडक लगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताए । उनले चीन–नेपाल जोड्ने रेल र सडक पूर्वाधार बन्दा भारतले पनि प्रयोग गर्नसक्ने भएकाले नेपालले बिआरआईमा सम्झौता गर्दैमा तर्सनुपर्ने आवश्यकता नभएको उल्लेख गरे ।
उनले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल बन्दै गर्दा सबैभन्दा बढी फाइदा भारतलाई हुने दाबी गर्दै केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल तथा सडक पूर्वाधार बन्दा चीनबाट भारतले महिना दिन लगाएर ल्याउने सामान एक दिनमा भारत पुर्याउनसक्ने भन्दै भारत बिआरआईबाट तर्सिनु नहुने उल्लेख गरे ।
महासेठले नेपालले कुनै भारत बिरोधी भावनाले प्रेरित योजना स्वीकार गर्न नसक्ने भन्दै बिआरआई फ्रेर्मवक परियोजना भारत बिरोधी नभएको जिकिर गरे । उनले नेपाल सरकारले चीनसँग बिआरआई परियोजनामा हस्ताक्षर गरेसँगै विकासको ढोका खुलेको दाबी गरे ।
उनले नेपाल–चीन जोड्ने चार वा ६ लेनको सडक बनाउँदै गर्दा निजी क्षेत्रले आफैँ लगानी गर्ने बताउँदै नेपालको प्रतिकुल नहुने गरी ऋण लिँदा केही समस्या नहुने भन्दै नेपाललाई चीन र भारतको बिरोधस्थल बनाउन नदिने बताए ।
उनले नेपालले चीन र भारत मात्रै नभएर विश्वका कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालबाट कुनैपनि बिरोधी गतिविधि गर्नदिन नहुने बताउँदै बिआरआई परियोजना नेपाललाई आवश्यकता भएकाले सम्झौता गरिएको जिकिर गरे । उनले बिआरआई परियोजनामा सरकारले ऋण लिने नभई परियोजनाले तिर्नेगरी ऋण लिनुपर्ने बताउँदै बिआरआईभित्र ऋण र सहयोग केहि पनि नपर्ने दाबी गरे ।
उनले भने, ‘बिआरआईबाट भारत तर्सनुपर्ने काम छैन । नेपालमा कनेक्टिभिटिको विकास भयो भने नेपालको बाटो भारतले प्रयोग गर्न मिल्दैन र ? नेपाल–चीन रेल र सडक मार्ग बन्दा एक दिनमा चीनबाट भारत पुग्छ । त्यसैले भारत पनि बिआरआईबाट तर्सनु हुँदैन । भारत बिरोधी भावनाले प्रेरित योजना स्वीकार गर्दैनौं । तर बिआरआई फ्रेर्मवक परियोजना त्यस्तो छैन । विकासको ढोका सडक बन्ने बित्तिकै सरकारले विकास गर्नुपर्दैन । ६ लेन वा चार लेनको सडक बनाईदियो भने निजी क्षेत्रले आफैँ लगानी गरेर उद्योग खोल्छन् ।’
नेपाल सरकारको सहयोगमा दुई देशको टिम बसेर निर्णय गर्छ । नेपाल सरकारले तिर्नेगरी ऋण हुँदैन । परियोजनाले तिर्नेगरी हुन्छ । जुन परियोजनाबाट उत्पादन हुन्छ त्यो परियोजनामा ऋण लिनुपर्छ । जुन रेल उत्पादनमुलुक हो । सडक बन्दा नेपालीले मात्रै नभएर भारतीय व्यवसायीले पनि यही बाटो प्रयोग गर्छन् । बिआरआई भित्र ऋण र सहयोग पर्दैन । २०१४मा नेपाल सरकारले सैद्धान्तिक सहमति दियो’ उनले उल्लेख गरे ।
उनले एक चीन नीतिलाई नेपालले मात्रै होइन अमेरिकाले पनि मानेको उल्लेख गर्दै विश्व राजनीतिक उत्तारचढावको कारणले अहिले नमानेको बताए । अहिले ताइवान स्वतन्त्र राष्ट्र भएको बताए ।
पूर्वपरराष्ट्रमन्त्री महासेठले बिआरआई सम्झौतापछि बाहिर उठिरहेका प्रश्नको जवाफका लागि सम्झौतामा उल्लेख विषय अध्ययन गर्न आग्रह गरे । उनले राजनीतिक दलका नेताहरुले सबैभन्दा पहिला बिआरआई के हो बुझ्न आवश्यक रहेको उल्लेख गरे ।
उनले आफू परराष्ट्रमन्त्री हुँदा बिआरआईको विषयमा अध्ययन गर्दा कतैपनि ऋण र सहायता भनेर उल्लेख नभएको दाबी गर्दै ऋण र अनुदानसँग कुनै सम्बन्ध नभएको जिकिर गरे ।
उनले भने, ‘बिआरआई परियोजना श्रीलंकामा ऋण लिएर डुब्यो भन्नुभएको छ । ऋण लिएर दुरुपयोग गर्यो भने चलाउन जानेन भने डुब्छ । अहिले धेरै मानिसहरु श्रीलंकामा भएको घटना देखेर तर्सिरहेका छन् । श्रीलंकामा गृहयुद्ध, आर्थिक संकट, प्रतिवद्धता गरेको लगानी राख्न सकेन र चीनले ऋण दियो ।आन्तरिक कारणले श्रीलंकाले चलाउन नसक्दा चीनले चलाएको हो ।’
उनले बिआरआईको मुख्य पक्ष आर्थिक सहकार्य भएको दाबी गर्दै बिआरआईमा नेपालको अवस्थामा पाँच आधार मानेको भन्दै नीतिगत,आर्थिक,खुला बजार, रेल र सडक कनेक्टीभिटि र नेपाली जनता परियोजनामा सहभागी भएर रोजगारी पाउने र प्रत्येक जनताको योगदान हुनुपर्ने आधारहरु आवश्यक रहेको बताए ।
उनले नेपालमा विद्युत उत्पादन भएपनि निर्यात गर्न नपाएको भन्दै भारतसँगको शर्तमा महँगोमा किन्ने र सस्तोमा निर्यात गरिरहेको उल्लेख गरे । विद्युत व्यापारमा नेपालको भारतमा जस्तो चीनमा अवस्था भएको भए नेपालले विद्युत बेच्न सहज हुने थियो ।
पूर्वपरराष्ट्रमन्त्री महासेठले नेपालले खुला बजारलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको जनाउँदै नेपाल आर्थिक, समाजिक र राजनीतिक रुपमा कुन अवस्थामा रहेको छौं भन्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्