Skip to content
Shikhar Insurance
National Life

नेपालमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई अध्यक्ष ढकालको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। एसिया–प्रशान्त चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (क्यासि) परिस‌‌घको आज काठमाण्डौंमा सुरु ३७औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्।

नेपाली अर्थतन्त्रले ठुला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर बृद्धितर्फ उन्मुख रहेको बताउँदै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताएका हुन्। पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैङ्किग क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानिकर्ताहरुका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।

नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सृजना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत परियोजनामा लगानीका अवसर छोप्नु पर्ने समय आएको बताए।

यसैगरी विश्वस्तरीय होटेल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे। बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठुला होटेल लगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे।

नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गराए।

नेपालले दक्षिण एसिया, एसिया प्यासिफिक क्षेत्र र त्यसभन्दा बाहिर भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटी विस्तार गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले डिजिटल अर्थतन्त्रको विकासमा साझेदारीका लागि समेत आग्रह गरे। महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरुलाई सहयोग गर्न तयार रहेको तर्फ पनि अध्यक्ष ढकालले विश्वस्त रहन आग्रह गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्