Skip to content
Shikhar Insurance
National Life

धेरै भन्सार महसुल तिर्नेको पाचौं नम्बरमा उक्लियो इलेक्ट्रिक गाडी, यस्ता छन् उत्कृष्ट १० वस्तु

Hyundai
NCELL
NIMB

काठमाडौं। इलेक्ट्रिक गाडीले आक्रामक रुपमा नेपालमा बजार विस्तार गरेको छ । सरकारले विद्युतिय गाडीलाई प्रोत्साहन गरेसँगै आयात बढेको हो । विद्युतिय गाडीको आयातमा वृद्धि भएसँगै धेरै भन्सार महसुल तिर्नेको पाचौं नम्बरमा विद्युतिय गाडी परेको छ ।

चालु वर्षको ८ महिनामा चीनबाट ९ अर्ब २४ करोड ६० लाख बराबरको विद्युतिय गाडी आयात भएको छ । ८ महिनामा ५१ किलोवाट देखी १ किलोवाट सम्मका ३२ सय ६० वटा गाडी आयात भएको हो । यसबाट सरकारले ७ करोड ७८ लाख राजस्व प्राप्त गरेको छ ।

यस्तै भारतबाट पनि २ हजार ४८ वटा विद्युतिय गाडी आयात भएको छ । जसलाई नेपाली व्यावसायीले ३ अर्ब ६६ करोड ५९ लाख बराबर तिरेका छन् । यसबाट सरकारले १ अर्ब ९ करोड ७१ लाख प्राप्त गरेको छ । अहिले नेपाली बजारमा चीनियाँ ब्राण्ड बीवाइडीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ । यस्तै दोस्रो नम्बरमा भारतीय ब्राण्ड टाटाले बजार विस्तार गरिरहेको छ ।

आयाततर्फ धेरै राजस्व तिर्ने वस्तुको पहिलो नम्बरमा डिजेल परेको छ । चालु वर्षको ८ महिनामा ८८ अर्ब ८८ करोडको बराबरको डिजेल आयात भएको हो । जसबाट ३४ अर्ब २४ करोड भन्सार महसुल संकलन भएको छ । यस्तै दोस्रो स्थानमा पेट्रोल परेको छ । यो अवधिमा ४४ अर्ब ६३ करोडको पेट्रोल आयात भएको छ । जसबाट २५ अर्ब ७३ करोड बराबरको राजस्व सरकारले प्राप्त गरेको छ ।

तेस्रो स्थानमा एलपीजी ग्याँस परेको छ । यो अवधिमा ग्याँस ३५ अर्ब ८७ करोडको आयात भएको छ । जसबाट ६ अर्ब ६९ करोड राजस्व संकलन भएको छ । धेरै राजस्व तिर्नेको चौथो नम्बरमा पेट्रोलिमय गाडी परेको छ । यो अवधिमा १ अर्ब ९७ करोड ५३ लाख बराबरको १७ सय ९७ वटा गाडी आयात भएको छ । जसबाट ५ अर्ब ७ करोड ७८ लाख भन्सार महसुल संकलन भएको छ ।

पाचौं स्थानमा विद्युतिय गाडी पर्दा, छैटौं स्थानमा ५० सीसीदेखी १ सय ५० सीसी सम्मको मोटरसाइकल परेको छ । यो अवधिमा ३२ हजार ९ सय  १९ वटा मोटरसाईकल आयात भएको छ । यसको लागि ३ अर्ब ८ करोड भारतीय बजारमा नेपाली व्यावसायीले खर्च गरेका छन् । जसबाट ३ अर्ब ६७ करोड ३२ लाख राजस्व संकलन भएको छ ।

यस्तै फलामको कच्चा पदार्थ धेरै राजस्व तिर्नेको सातौं नम्बरमा परेको छ । यो अवधिमा २५ अर्ब ९१ करोड ४१ लाख बराबरको आयात भएको छ । जसबाट ३ अर्ब ६५ करोड ५९ लाख राजस्व संकलन भएको छ । यस्तै आठौं नम्बरमा स्मार्टफोन परेको छ । यो अवधिमा ९ लाख १८ हजार २४ वटा स्मार्टफोन आयात भएको छ । यसका लागि नेपाली व्यावसायीले १३ अर्ब २९ करोड रुपैयाँ खर्चिएका छन् । यस्तै राजस्व २ अर्ब ४८  करोड दाखिला भएको छ ।

यस्तै नवौं नम्बरमा क्रुड सनफ्लावर तेल परेको छ । यो अवधिमा १० अर्ब ४ करोड मूल्य बराबरको तेल आयात भएको छ । जसबाट २ अर्ब ३३ करोड ९८ लाख राजस्व संकलन भएको छ । धेरै भन्सार महसुल तिर्नेको १० औं नम्बरमा मार्बल परेको छ । यो अवधिमा ३ अर्ब ४८ करोड २४ लाख बराबरको मार्बल आयात भएको छ । जसबाट २ अर्ब ३२ करोड ७३ लाख राजस्व संकलन भएको छ ।

१० धेरै राजस्व तिर्ने वस्तुहरुको ८ महिनामा कुल आयात २ खर्ब ३६ अर्ब ४४ करोड बराबरको छ । यस्तै १० बस्तुबाट कुल ९० अर्ब ७७ करोड १८ लाख महसुल संकलन भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्