Skip to content
Shikhar Insurance
National Life

यो सरकार र गभर्नरलाई हटाएपछि मात्रै सेयर बजारमा सुनौलो युग आउँछ: अग्रवाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारण लगानीकर्तालाई मार पर्ने नीतिगत व्यवस्था गरेको लगानीकर्ताले टिप्पणी गरेका छन् । राजनीतिक प्रभावमा अर्थतन्त्रको विकासलाई नै असर गर्ने नीति राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले लिएको आरोप लगानीकर्ता दिपेन्द्र अग्रवालले लगाएका हुन् ।

‘सेयर धितो कर्जा लिएका ऋणीलाई राष्ट्र बैंकले बचाउने कि वर्वाद गर्ने ? राष्ट्र बैंकको काम भनेको अविभावकको हो । तर, राष्ट्र बैंकले सेयर बजारसँगै सम्पूर्ण अर्थतन्त्रलाई नै वर्वाद गर्ने नीति अबलम्बन गर्न थालेको छ,’ अग्रवालले सिंहदरबारसँग भने, ‘राष्ट्र बैंकसँग देशको अर्थतन्त्र सुधारका लागि कुनै पनि योजना छैन यो सानो स्टक मार्केट उनीहरुको लागि केही होइन । राष्ट्र बैंकका गभर्नर एमालेका कार्यकर्ता मात्र हुन्, अहिले आफ्नो लागि राम्रै काम गर्दै हुनुन्छ ।’

लगानीकर्ताको हितमा नियमक निकायसँगै लगानीकर्ताका नेताहरुले समेत काम नगरेको उनले गुनासो गरे । सर्वसाधारण लगानीकर्ताको आवाज बन्ने प्रतिवद्धता गर्नेहरुले समेत बजारको हितमा काम नगरेको आरोप उनको हो ।

‘निदाएको मान्छेलाई बिउँझाउन सकिन्छ तर निदाएको जस्तो गर्ने मान्छे कसरी बिउँझाउने ? हामीले सुझाव पनि बुझेको मान्छेलाई दिँदा सम्बोधन हुन्छ । हाम्रो गभर्नर सा’ब सीए पढेर आउनु भएको मार्केटबारे केही बुझ्नु भएको छैन, हामीले के बुझाउनु ?’ उनले प्रश्न गरे ।

सेयर लगानीकर्ताको हितका लागि आवाज उठाउँछौं भन्दै संगठित लगानीकर्ता संघहरुले समेत बजार र लगानीकर्ताको आवश्यकता बुझ्न नखोजेको उनको भनाइ छ ।

‘५ वटा लगानीकर्ताहरुको संगठन छ, ती संघका लिडरहरुले पनि हाम्रो लागि केही गरेका छैनन् । आफैं टिका लगाएर म लिडर भन्नेहरुसँग लगानीकर्ताले के अपेक्षा गर्नु । उनीहरुलाई मार्केटको बारेमा पनि ज्ञान हुँदैन । आफ्नै हितका लागिमात्र त्यस्ता संगठन खोलिएको हो,’ उनले भने, ‘नियामक निकायम भनेको लगानीकर्ताहरुको लागि भष्मासुर जस्तै भयो ।’

अर्थतन्त्रको विकास र विस्तारका लागि अर्थमन्त्रीसँग छलफल गर्दा समेत लगानीकर्ताको चिन्तनलाई वेवास्ता गरिएको उनले बताए ।

‘लगानीकर्ताले महा–गठबन्धन बनाएर बजारको हितका लागि अर्थमन्त्रीसँग छलफल गर्न गएका थिए तर, अर्थमन्त्रीले गाली गरेर पठाइदिए । अर्थतन्त्र सम्हाल्न सक्नुहुन्न भने अर्थमन्त्रीको के काम पद छोड्दा हुन्छ,’ उनले थपे ।

लगानीकर्ताहरुलाई सबैपक्षले रुष्ट बनाएको तर लगानीकर्ताहरु ४८ लाखको पावर भएको हुँदा अहिलेको सरकारले लगानीकर्ताको हितमा काम नगरे आफैंलाई हानी हुने उनको भनाइ छ ।

‘हामीसँग ४८ लाख लगानीकर्ताको पावर छ, अहिलेको सरकार र गभर्नर दुवैले पद र सत्ता छोडेपछि मात्र सुनौलो युगको सुरुवात हुन्छ र बजार बढ्छ । हामी लगानीकर्तालाई अर्थमन्त्री र गभर्नर दुवैको आवश्यकता छैन ।’

GBIME

प्रतिक्रिया दिनुहोस्