Skip to content
Shikhar Insurance
National Life

ठूला करदाता र सामाजिक सुरक्षा कोषको कार्यालय स्थापनाको माग

Hyundai
NCELL
NIMB

गण्डकी । पोखरा उद्योग वाणिज्य संघले पोखरामा कम्पनी रजिष्ट्रार, सामाजिक सुरक्षा कोष तथा ठूला करदाता कार्यालय स्थापनाको माग गरेको छ । संघका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले गण्डकीका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ती माग गरिएको हो ।

अध्यक्ष प्रजापतिले यी कार्यालय पोखरामा नहुँदा करदाताले ठूलो सास्ती बेहोर्नु परेको भन्दै मागको सम्बोधन गर्न आग्रह गरे। ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले निजी क्षेत्रको माग सम्बोधनका लागि सरकारले पहल गर्ने विश्वास व्यक्त गरे । ज्ञापनपत्रमा गण्डकी सरकारको बजेट वक्तव्यमा उल्लेखित औद्योगिक क्षेत्र निर्माणका लागि तत्काल पहलकदमी लिन, प्रदेशका लाइफ लाइन मानिएका राजमार्गको स्तरोन्नतिलाई गति दिन माग गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल एवम् पोखराको प्रचारमा जुट्न, वन पैदावारको उचित उपयोगको नीति तत्काल तय गर्न, नयाँ पदयात्रामार्ग निर्माण तथा पर्यटकीय गन्तव्यको विकासमा यथोचित ध्यान दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्रमा अर्थतन्त्र सही दिशामा नहिँडेको जिकिर गर्दै असहाय र किंकर्तव्यविमुढको अवस्थाबाट गुज्रिरहेको निजी क्षेत्रलाई उत्साहित बनाउनसमेत माग गरिएको छ । प्रतिनिधिमण्डलमा अध्यक्ष प्रजापतिसहित वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य, कोषाध्यक्ष दिनेश बाँस्तोलालगायतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्