Skip to content
Shikhar Insurance
National Life

‘ट्रायल’ मा ७० प्रतिशत लागू भएपछि पास हुने १० प्रतिशतले बढे

Hyundai
NCELL
NIMB

काठमाडाैं। चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन्।

बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम लागू गरेका थिए ।

पहिले दुईपाङ्ग्रे सवारीसाधनमा ससाना गल्तीका कारण फेलको सङ्ख्या बढी भएकाले अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत हुँदा पास हुने व्यवस्था लागू गरेपछि पास हुनेको सङ्ख्या बढेको यातायात व्यवस्था कार्यालय (चालक अनुमतिपत्र) एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बता । दुईपाङ्ग्रे सवारीसाधनमा पास हुनेको सङ्ख्या १० प्रतिशत बढे पनि चारपाङ्ग्रे सवारीसाधनको परीक्षामा भने पहिलेभन्दा उल्लेखनीय रुपमा बढ्न नसकेको उनले बताए।

गाडीमा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने प्रमुख कपालीले बताए। चार पाङ्ग्रे तथा ठूला गाडीमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भए पनि गाडीको ट्रायलमा मौका नहुने भएकाले फरक नपरेको उनले बताए।

अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायात कार्यालयले जनाएको छ । पुरानो कार्यविधिअनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए ।

धेरै सेवाग्राही ट्राफिक बत्तीमा झुक्किएर पनि फेल हुने गरेको प्रमुख कपालीले बताए। उनले भने, “अहिले आठमा खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् ।” यातायात व्यवस्था कार्यालयमा पहिले सेवाग्राहीको भीड व्यवस्थापनको समस्या रहेकामा अहिले उक्त समस्या समाधान भइरहेको उनले बताए।

“नयाँ दर्ता तथा लिखित परीक्षामा समस्या थियो । अहिले समाधान भइरहेको छ”, प्रमुख कपालीले भने, “लिखित परीक्षा बिहान ७ बजे सुरु गरेर १० बजेसम्म सकाउने गरेपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको छ ।”

प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने नियम अरू प्रदेशले यसअघि नै कार्यान्वयन गरे पनि बागमती प्रदेशले भने ढिला सुरु गरेको थियो । विगतमा शत प्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत सेवाग्राही पास हुने गरेका यातायात व्यवस्था विभागले जनाएको छ । लिखित परीक्षा पास भएका सेवाग्राहीले प्रयोगात्मक परीक्षा एक पटक फेल भए पनि तीन पटकसम्म दिन पाउने व्यवस्था छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्