Skip to content
Shikhar Insurance
National Life

झोलुङ्गे पुल बनेसँगै आवागमन सहज

Hyundai
NCELL
NIMB

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं. ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । ५९ लाख ९ हजार ३ सय ६५ लागतमा एक सय १४ मिटर लामो पुल निर्माण भएसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।

वि.सं २०७८ असोजदेखि निर्माण सुरु भएको उक्त पुल यही असोज २१ गते सम्पन्न भएपछि मङ्गलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नवनिर्मित पुलको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गरेका हुन्। कार्यक्रममा उनले विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिकीमा सहयोग पुग्ने बताए।

मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा उक्त पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिए। पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति केबी भण्डारी र सचिव भरत रकाल, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा नं १ का वडाध्यक्ष टङ्कप्रसाद पुन, वडा नं ६ का वडाध्यक्ष पथबहादुर रोका, पिटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह, मिलनका प्राविधिक यामबहादुर विकलगायतले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानी गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्