Skip to content
Shikhar Insurance
National Life

चैतमा ८५ अर्ब उठाउने योजनामा राजस्व विभाग, करदातालाई फोन घुमाउन सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले चैत महिनामा ८५ अर्ब १० करोड राजस्व असुल गर्ने लक्ष्यसहित तयारी सुरु गरेको छ । विभाग अन्तर्गतका कार्यालयहरुले करदातालाई फोन घुमाउन सुरु गरेका हुन् ।

चैत महिना आयकरको ७० प्रतिशत अर्थात कुल करको ३० प्रतिशत रकम दाखिला गर्ने महिना हो । अग्रिम आयकरको  ४० प्रतिशत रकम पुस महिनामा करदाताले बुझाई सकेका छन् । विभागले आयकर ऐन २०५८ को दफा ९४ अनुसार चैत महिनाभित्र दाखिला गर्न आग्रह गरेको हो ।

राजस्व संकलनलाई बढाउन टीम परिचालन गरिसकेको विभागका महानिर्देशक भुपाल बरालले बताए । बरालले सिंहदरबारसँग भने ‘चैतमा लक्ष्य अनुसार राजस्व संकलन हुने विषय अहिले नै भन्न सकिने अवस्था छैन २० गते पछिको अवस्था हेरेर मात्रै केही अनुमान गर्न सकिन्छ ।’

चैत महिनामा पनि गतवर्ष भन्दा १० प्रतिशत बढी राजस्व संकलन हुने महानिर्देशक बरालको भनाई छ । तर अर्थमन्त्री वर्षमान पुनले भने गतवर्ष भन्दा २० प्रतिशतले राजस्व बढाउने बताएका छन् । तर अहिले बजारमा माग बढ्न नसक्दा २० प्रतिशत राजस्व बढ्न सक्ने अवस्था छैन ।

चालु वर्ष सरकारले बैंक तथा वित्तिय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) र बार्गेन पर्चेज (मर्जर) को १३ अर्ब ५ करोड अतिरिक्त रकम जम्मा हुदाँ गतवर्ष भन्दा १० प्रतिशत बढिको वृद्धि देखिएको हो । धेरै राजस्व उठाउने महिना अर्थमन्त्री फेरिदाँ कर्मचारीहरु भने केहि अन्योलमा देखिएका छन् । अर्थ मन्त्रालयमा नयाँ मन्त्री आउने बित्तिकै सहसचिव र सचिव स्तरका कर्मचारी परिवर्तन गर्ने परिपाटी चलेको छ ।

आन्तरिक राजस्व विभागका हालका महानिर्देशक भुपाल बराल सरुवा हुने हल्लाले कर्मचारी वृतमा असर गरेको छ । विभागका एक कर्मचारीले भने ‘चैत महिना धेरै राजस्व उठाउनु पर्ने महिना हो, तर यो बिचमै महानिर्देशक फेरिने हल्लाले कर्मचारीको मनोवलमा असर गरेको छ ।’

ती कर्मचारीले महानिर्देशकबाट स्पष्ट मार्गनिर्देशन प्राप्त भएपछि करदातालाई फलोअप गर्न सजिलो हुने बताए । यद्यपी कार्यालयहरुलाई पहिले नै लक्ष्य गैसकेको हुनाले करदातालाई फोन घुमाउन सुरु गरिसकेका छन् ।

विभागलले लिएको लक्ष्य पुरा हुनेमा भने विभागकै कर्मचारीहरु नै सहमत छैनन । ठूला करदाता कार्यालयका एक कर्मचारीले भने ‘अहिले उत्पानशिल उद्योगको कारोबार घटेको छ, ट्रेडिङ व्यावसायीको पनि हालत उस्तै छ, केहि गाडी कम्पनीले घाटामै कारोबार विवरण बुझाउने स्थिति छ,  एशियन पेन्ट्स जस्ता मल्टिनेश्नल कम्पनीको व्यापार ४० प्रतिशतले गिरावट आएको छ ।’

ती कर्मचारीका अनुसार सिमेन्ट, डन्डी, अन्तशुल्कमा आधारित उद्योगका कारोबारमा भारी गिरावट आएको छ ।  चालु वर्षको आठ महिनामा विभागले ३ खर्ब ८३ अर्ब ५५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ३ खर्ब ११ अर्ब ९१ करोड मात्रै राजस्व संकलन भएको छ। जुन लक्ष्यको तुलनामा ७२ अर्ब ३६ करोड कम हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्