Skip to content
Shikhar Insurance
National Life

घरजग्गाको बीमा अनिवार्य गर्नैपर्छ, विकास बजेट काटेर राहत बाँड्नुपर्ने दिनको अन्त्य हुन्छ (विचार)

Hyundai
NCELL
NIMB

बीमाको पहूँच मापन गर्दा सामान्यतया जीवन बीमाको पहुँचलाई आधार मानिन्छ । निर्जीवन बीमाको बजार पहुँचलाई मापन गर्न सकिदैंन । जीवन बीमाको हकमा यो वर्षका लागि सरकारले ३३ प्रतिशत पुर्‍याउने लक्ष्य दिएको थियो । अहिले नै ३५ प्रतिशतको हाराहारीमा पुगिसकेकाले हामीले त्यो लक्ष्य भेट्टाएर पनि माथि गइसकेका छौं ।

हामीले समग्र रुपमा बीमा बजारलाई हेर्दा नागरिकको जीवनका साथसाथै धनको पनि सुरक्षण हुनुपर्छ भनेर हेर्नुपर्छ । त्यो मामिलामा हामी अझै पनि धेरै कमजोर छौं । यसको सबैभन्दा ठूलो कारण भनेको सरकारले नै बीमालाई जोखिम हस्तान्तरण गर्ने सबैभन्दा आकर्षक विकल्प हो भनेर नबुझ्नु हो ।

सरकारको बुझाइ नै कमजोर भएपछि नागरिक समाजले सुन्दा पनि सुन्दैन । त्यसकारण सरकारले पहिले आफ्नो सम्पत्तीको बीमा गरेर अभियान सुरु गर्नुपर्छ । त्यसपछि प्रदेश सरकार र स्थानीय सरकारले पनि भविष्यमा हुनसक्ने आर्थिक क्षतिको सबैभन्दा राम्रो माध्यम हो भन्ने बुझछन् । थोरै पैसाले धेरै मान्छेको बीमा हुने अवस्था आउनुपर्छ ।

अहिले विपद व्यवस्थापनमा सरकारको कार्यशैली ठीक विपरित छ । हामी घटना कुरेर बस्छौं, कुनै दुर्घटना भएपछि त्यहाँ गएर चन्दा र सहायता बाँड्ने चलन छ । त्यो राहतले पुनरुत्थान हुन पनि सक्दैन । तर त्यत्ति नै पैसाले सिङ्गो गाउँका गरिबहरुको घरको बीमा गर्न सकिन्छ । त्यो कुरा हाम्रो राजनीतिक नेतृत्वले बुझ्दैन वा बिर्सिन्छ । अहिले हाम्रो प्रयास पनि स्थानीय सरकारले यो कुरा बुझ्नु पर्छ । स्थानीय सरकारले आफ्नो बजेटमा चन्दा पुरस्कार हटाएर बीमा गर्ने योजना राख्नुपर्‍यो । सबैलाई बीमाको नेटमा ल्याउनुपर्‍यो ।

नेपालमा बरु संसारमै नहुने महामारीको बीमा भयो । महामारी र प्राकृतिक प्रकोप फरक कुरा हुन् । महामारीको दायित्व तिर्न ढिलाइ भएको हो, अब त्यो तिरेपछि सकिन्छ । महामारी संसारभर वा जताततै एकसाथ आउँछ ।

तर प्रकोप भनेको कुनै निश्चित स्थानमा हुन्छ । बाढी, पहिरो, आगलागिजस्ता घटनाहरु निश्चित क्षेत्रमा हुन्छन् । मुलुकभर नै एकैपटक हुन सक्दैन । हरेक वर्ष यस्ता प्राकृतिक प्रकोपहरु हुन्छन् र ठूलो मानवीय तथा धनजन र पुर्वाधारको क्षति हुन्छ । त्यो क्षतिलाई हामी तुरुन्तै पुनरुत्थान गर्न पनि धेरै गाह्रो पर्ने अवस्था छ । तर त्यस्ता क्षतिको क्षतिपूर्ति बीमाको माध्यमबाट दिलाउनतिर हाम्रो प्रयास हुनुपर्छ । त्यो प्रयासमा स्थानीय सरकार नै सबैभन्दा अघि लाग्नुपर्ने छ । भौतिक र वित्तीय रुपमा आफ्नो स्थानीय तहको संरक्षण गर्ने दायित्व पनि स्थानीय तहकै हो ।

जो व्यक्ति आफैं बीमा गर्न सक्षम छ, उसलाई सम्पत्तीको बीमा अनिवार्य गर्नुपर्छ । जो व्यक्ति गरिब छ र आफ्नो सम्पत्तीको बीमा गर्न सक्दैन भने सरकारले अनुदानको रुपमा गरिदिनु पर्छ । एकै वर्षमा सबै काम हुनसक्छ भन्ने छैन ।

कर्णाली प्रदेशले आफ्ना १७–१८ लाख नागरिकको दुर्घटना बीमा गरेको छ । गर्न चाह्यो भने सकिने रहेछ भन्ने यो उदाहरण हो । एकै पटक सकिन्न भने क्रमशः बीमा गर्ने योजनामा काम गर्नुपर्छ । यसरी बीमा गरेपछि कुनै दुर्घटना भयो भने सरकारले टाउको दुखाइरहनु पर्दैन, बीमा कम्पनीले नै सबै तिरिदिन्छ ।

अहिले सम्पत्ती बीमा गर्दा नागरिकले ऋण वा अरु कुनै प्रयोजनका लागि आंशिक बीमा गर्ने गरेको पनि देखिन्छ । बीमाको बारेमा हाम्रो बुझाइ पर्याप्त छैन । नियामक निकायले पनि जहाँ बुझेको छ, त्यहींमात्रै हस्तक्षेप गर्न सक्छ ।

सम्पत्ती बीमाका चाहीं केही व्यवहारिक पाटो पनि छन् । सहरी क्षेत्रमा जग्गाको भाउ नै आनाको औसत ५० लाखसम्म छ । कतिपैसा हामीले बैंकबाट ऋण लिन्छौं, त्यति पैसामात्रै धान्ने गरी अण्डर इन्स्योरेन्स गर्ने अभ्यास पनि छ । त्यसलाई हामी निरुत्साहित गरिरहेका छौं । त्योभन्दा पहिले मानिसहरुलाई हामीले बीमाबारे सचेतना दिनु आवश्यक छ ।

त्यसपछि बीमामा तिम्रो अवस्था कहाँनेर छ भनेर सिकाउनु पर्छ । त्यसपछिमात्रै हामी प्रडक्ट र नाफाघाटाका कुरा नागरिकलाई सिकाउन सक्छौं । यसका लागि लामै योजना आवश्यक छ । तथापि, अहिले कम्तिमा नगरपालिकाले त बुझिदेओस् भन्ने हाम्रो मान्यता हो । नगरपालिकाले घरजग्गाको राजश्व लिन्छ । विभिन्न सार्वजनिक सेवा प्रवाह गरिरहेको हुन्छ । घरको नक्सा पास गरिरहेको हुन्छ । गाडीको बिलबुक नवीकरण गर्दा बीमा आवश्यक भएजस्तै नगरपालिकाले पनि घरको नक्सा पास गर्दा बीमा अनिवार्य शर्तका रुपमा राख्न सक्छ । घरलाई अनिवार्य बीमामा राख्नुपर्छ, यो स्वेच्छिक हुन सक्दैन ।

म सक्षम छु भने मैले तिर्नुपर्यो । म सक्षम छैन भने सरकारले अनुदानमा बीमा गरिदिनु पर्यो । १ करोडसम्म मूल्य पर्ने घरको बीमा गर्न वार्षिक साढे ४ हजार रुपैयाँमात्रै प्रिमियम तिर्नुपर्छ । यति पैसा तिर्न त घरधनी राजी हुनुपर्छ । भोलि विपद पर्यो भने लाभ पाउने उसैले हो ।

अहिले काठमाडौं उपत्यकामै २० प्रतिशतभन्दा बढी घरको बीमा छैन । भूकम्पका बेला बीमा भएका घरलाई १३ अर्ब रुपैयाँ तिरिएको छ । यही कात्तिकमा बाढीले धानको ठूलो क्षति भयो । त्यसको बीमा भएको भए बीमाले पैसा दिन्थ्यो । गाउँपालिकाले आफ्नो विकास बजेट काटेर राहत बाँड्नुपर्ने अवस्था आउँदैन थियो ।

नेपालमा बीमा कम्पनीको सीईओ र सञ्चालकहरु नै दोहोरो मापदण्डमा छन् । एकातिर नयाँ कम्पनी ल्याउनु हुन्न, धेरै भयो भन्नुहुन्छ । त्यसलाई मर्जर गरेर बलियो बनाउँ न त भन्दा कतिपयले फेरि त्यो नीतिको पनि विरोध गर्नुहुन्छ । यो मुलुकमा बीमाको व्यवसाय गर्नका लागि सशक्त कम्पनी आवस्यक छ भन्ने हाम्रो निचोड हो ।

जम्मा ८ प्रतिशतभन्दा धेरै जोखिम धान्नै नसक्ने पूँजी बोकेर १०० प्रतिशतको जोखिम बोकेर बस्ने प्रवृत्ती छ । अब पुँजी बढाउनु पर्छ । हामीले पुँजी वृद्धिको योजना ३० दिनभित्र ल्याउन भनेका छौं । उहाँहरुको योजना चित्त बुझ्दो रह्यो भने अघि बढ्ने बाटो पाउनुहुन्छ । चित्त नबुझे मर्जरमा जानुहुन्छ ।

तर, यहाँ जुँगाको लडाइँ हुन सक्दैन । बीमा कम्पनीहरुले जोखिम थेग्ने सामथ्र्य बढाउनुपर्छ । हामी जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्दै छौं । त्यसले पनि थप पूँजीको माग गर्छ । नागरिकले आँखा चिम्लेर १ अर्बको कम्पनीलाई १० अर्बको जोखिम बोकाउन सक्दैन ।

जीवन बीमाको धेरै जोखिम पुनर्बीमामा हस्तान्तरण हुँदैन । निर्जीवन बीमा कम्पनीहरुले धेरै जसो जोखिम पुनर्बीमाबाट हस्तान्तरण गरेका हुन्छन् । त्यसकारण नेपालमा जीवन बीमा कम्पनीका लागि निर्जीवनभन्दा दोब्बर बढी पुँजी राख्न भनिएको छ ।

तर, अब हामी भौतिक विकासमा अघि बढ्दै जाँदा निर्जीवन बीमामा धेरै क्षेत्रमा हामीले जोखिम लिनुपर्ने हुन्छ । त्यसपछि निर्जीवन बीमा कम्पनीहरुको पुँजी अनुपात बढाउँदै जानुपर्ने हुन्छ । अहिले हामीले ठीकै पुँजी मागेका छौं, यसले अबको ३–४ वर्ष धान्न सक्छ ।

पुँजीका आधारमा कम्पनीको कारोबार पनि बढ्न सकोस् भन्नेमा नियामक सचेत छ । तर हाम्रा कम्पनीहरु जति सशक्त हुन्छन्, बाँकी विश्वले पनि त्यसरी नै हेर्छ । सानो पुँजीका फुच्चे कम्पनीलाई कसैले गन्दैन । तर, ठूलो पुँजी र व्यावसायिक आकार भएका संस्थालाई अन्तरराष्ट्रिय स्तरमा पनि विश्वास गर्छन् ।

हाम्रा संस्थालाई यसरी विश्वसनीय बनाउँदै लैजान पनि पुँजी अभिवृद्धि जरुरी हुन्छ । अर्कातिर संख्यात्मक रुपमा नेपालमा योभन्दा धेरै कम्पनी खोल्नु हुन्न भनेपछि नयाँ लगानीकर्तालाई बाटो खोल्न पनि पुँजी बढाउने नीतिले सघाउ पुग्छ । अहिले पनि लगानी गर्ने मान्छे तयार छन्, लगानी गर्ने ठाउँ छैन । बैंकको तरलताले पुँजी वृद्धिलाई असर पार्दैन । अहिले बैंकको कारोबार, सेयर बजारजस्ता सबै बजार चलिरहेकै छन् । त्यसमाथि हामीले १ वर्षमा पुँजी बढाउ भनेका छौं । यसले बीमा क्षेत्रको संस्थागत सुदृढीकरणमा ठूलो मद्दत पुग्छ ।

अर्को पाटो भनेको, नेपालमा सुशासनलाई नमान्ने प्रवृत्ती पनि निकै बलियो छ । यस्तो प्रवृत्तीलाई सुधार गर्न हामीले स्पष्टिकरण र कारबाहीको माध्यमबाट प्रयास गरिरहेका छौं । कम्पनीको राम्रो कामको जस र खराब कामको सजाय सीईओले पाउने गरी कार्यकारी प्रमुखको पर्फर्मेन्ससँग जोड्ने आवश्यक छ । यसले सुशासनलाई बलियो बनाउँछ । हामी अब त्यसतर्फ काम गरिरहेका छौं ।

नियामकीय सुधार
बजारको नियमन गर्ने कुरामा ऐनले सबै व्यवस्था गरेको छ । ऐनको पूर्ण कार्यान्वयन गर्ने कुरामा बीमा समितिले निरन्तर काम गरिरहेको छ । ऐनको संशोधन गर्ने प्रक्रिया पनि धेरै अघि बढिसकेको छ । अहिले संसदीय समितिले पारित गरिसकेको अवस्था छ । संसदले त्यसलाई पारित गरेपछि कार्यान्वयन हुन्छ ।

ऐनले बीमा समितिलाई सबैभन्दा पहिले बीमाको बजार निर्माताको रुपमा लिएको छ । त्यसपछि बीमा बजारको व्यवस्थापन गर्ने काम आउँछ । यी दुवै काम हामीले उच्च प्राथमिकतामा गरिरहेका छौं । त्यसपछिको दायित्व नियमनको हो । यसका लागि हामीले सुपरिवेक्षण गर्ने, आवश्यक नीति नियमहरु बनाउने र त्यसको कार्यान्वयन गराउने काम गरिरहेका छौं ।

त्यसपछिको दायित्व भनेको गल्ती गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने हो । हामीले कतिपय कारबाही अघि बढाइसकेका छौं । नियामकले दिनुपर्ने समन्वय र कामकारबाहीमा हामीले तीव्र रफ्तारमै काम गरिरहेका छौं । दाबी भुक्तानीलाई प्रभावकारी बनाउन मेहेनत भइरहेको छ । नियामक निकायलाई समन्वयकर्ता सम्झेर कम्पनीहरु स्वनियमनमा बसुन् भन्ने संसारभरकै बुझाइ हो । नेपालमा पनि त्यही प्रयास भइरहेको छ ।

(बीमा समितिका अध्यक्ष शिलवालको लेख नेपाल चेम्बर अफ कमर्सको चेम्बर स्मारिका २०७८ बाट साभार गरिएको हो ।)

GBIME

प्रतिक्रिया दिनुहोस्