Skip to content
Shikhar Insurance
National Life

गोसाइँकुण्डमा स्नान गर्न गएका ५० प्रतिशत यात्रु गन्तव्यतर्फ प्रस्थान

Hyundai
NCELL
NIMB

रसुवा । जनैपूर्णिमा पर्वको मुख्य दिन बिहीबार गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्न गएका तीर्थ यात्रु फर्कनेक्रम जारी छ ।

गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गएका करिब चार हजारमध्ये ५० प्रतिशत भक्तजन आआफ्नो गन्तव्यतर्फ फर्किसकेका छन् । अन्य यात्रु आज बिहानैदेखि धुञ्चेबाट फर्किनका लागि गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।

डाँडापाखामा अह्रोरात्र कुहिरो लागे पनि मेला अवधिभर पानी नपरेपछि उकालीओराली गर्न अन्यन्तै सहज भएको तीर्थ यात्रामा गएका यात्रुले बताएका छन् ।

यात्रुलाई लेक लाग्ने समस्याको समाधानका लागि नेपाली सेनाले चन्दनबारीदेखि धार्मिक मार्गका ठाउँठाउँमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै चोलाङपार्टीमा सेनाले मेडिकल क्याम्पसमेत राखेको छ ।

रसुवा अस्पताल र गोसाइँकुण्ड गाउँपालिकाले लौरिविनायक क्षेत्रमा शिविर सञ्चालन गर्नुका साथै गोसाइँकुण्डको तलाउ डिलबाट हिमालय उद्धार सङ्घले यात्रुलाई उपचार सेवा दिएको धादिङका तीर्थयात्रु हरि पाठकले बताए।

गोसाइँकुण्ड मेलामा तीर्थ गर्न पुगेका एक जना यात्रुको यही १० गते लेक लागेर निधन भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए। उनले गोसाइँकुण्डबाट फर्किने क्रममा डिम्सा आसपास क्षेत्रबाट एक जना यात्रु हराइरहेकाले उनको खोजी तीव्र पारिएको बताए।

यात्राका क्रममा अन्य जोखिमखाले घटना नभएको प्रहरी प्रमुख बुढाथोकीले बताए। सुरक्षा निकायले एक जना यात्रुको उद्धार गरेको जनाउँदै उनले बिरामी यात्रुको थप उपचारार्थ काठमाडौं पठाइएको जानकारी दिए।

गोसाइँकुण्ड मेलामा भएका गतिविधिको विस्तृत विवरण शनिबारसाँझसम्म सङ्कलन भइसक्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले जानकारी दिए। उनले मेलामा सहयोग गर्ने सबै निकाय, व्यक्ति, संघसंस्थालाई धन्यवाद दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्