Skip to content
Shikhar Insurance
National Life

‘गोलचक्कर’मा नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स, शक्ति केन्द्रको टक्करले अध्यक्ष सिलवाल दबाबमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया गोलचक्करमा फस्दै गएको छ । आवेदक पाँच कम्पनीका लगानीकर्ताको आपसी टक्कर र शक्ति केन्द्रसम्मको पहुँचका कारण नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स प्रकरण पेचिलो बन्दै गएको हो ।

शक्ति केन्द्रहरुसँग सहजै पहुँच भएका लगानीकर्ताहरुको पाँच वटा आवेदन परेको छ तर समितिले भने एउटा कम्पनीलाई मात्रै लाइसेन्स दिने भनेको छ । पाँच वटा आवेदन आउनु र एक कम्पनी छान्नुपर्ने बाध्यता आईलागेपछि यो प्रकरण गोलचक्करमा फस्ने देखिएको हो ।

नयाँ पुनर्बीमा कम्पनीका लागि बीमा समितिले वैशाख १६ गते आवेदन मागेको थियो । हाल सञ्चालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेकाहरुले नयाँ कम्पनीमा लगानी गर्न नपाउने गरि आवेदन आव्हान गरिएको थियो । ‘निषेधाज्ञा सुरु भएकै दिन आवेदन खुल्नु अनि क्रस होल्डिङका नाममा ठूलो व्यवसायीक समूहलाई बाहिर राख्ने अवस्था बनेपछि नै नयाँ लाइसेन्स प्रक्रिया लफडामा फस्ने देखेका थियौं,’ एक लगानीकर्ताले सिंहदरबारसँग भने ।

खोलियो फाइल
श्रोतका अनुसार बीमा समितिले पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका कम्पनीहरुको फाइल खोलेको छ । समितिले जेठ ११ गते मंगलबारका दिन फाइल खोलेको हो । हाल आवेदकहरुले बुझाएका कागजातहरुको अध्ययन अघि भइरहेको छ ।

पाँच आवेदनः हिमालयनको अकस्मात इन्ट्रि
नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स माग्दै ५ वटा कम्पनीले आवेदन दिएका छन् । तीमध्ये चार वटा कम्पनी त्यस अघि नै लाइसेन्स माग्दै समितिको ढोका ढकढक्याउन पुगेका थिए । पुराना आवेदन रद्द गर्दै बीमा समितिले नयाँ आवेदन मागेको थियो । जस अनुसार अन्नपूर्ण रि, जेन्युइन रि, प्रुडेन्सियल रि, काठमाडौं रिले पुनः आवेदन दिए । हिमालयन रि भने अकस्मात आवेदन दिन पुगेको देखियो ।

पावर हाउसहरुको टक्करः कुनमा कसको लगानी ?
एउटा मात्रै पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिने भनेपछि अब त्यसका लागि पावर हाउसहरुको टक्कर स्वभाविक नै देखिन्छ । आवेदन दिएका पाँच वटै कम्पनीमा शक्तिकेन्द्रलाई रिझाउन सक्ने क्षमता देखिन्छ ।

नयाँ लाइसेन्सका लागि एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पुर्व अध्यक्षहरु पशुपति मुरारका र भवानी राणा, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, एनआरएनका पुर्व अध्यक्ष शेष घले, बसन्त चौधरी, पवन गोल्यान लगायत प्रतिष्पर्धामा छन् ।

हिमालयन रि
अकस्मात आवेदन दिन पुगेको हिमालयन रिलाई प्रधानमन्त्री ओलीको इच्छा अनुसार आवेदक बनाईएको बताइन्छ । यो कम्पनीमा हाइड्रो पावर क्षेत्रमा विचौलियाको आरोप खेपेका दिपक भट्ट प्रत्यक्ष सहभागी छन् । त्यसका अलवा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्धय पशुपति मुरारका र भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल तथा विवादास्पद व्यवसायी सुलभ अग्रवालको लगानी छ । साथै, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ताको पनि हिमालयनमा लगानी छ । यो टिमले सिधै प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेललाई कन्भिन्स गरेर लाइसेन्स लिन सक्ने बताइन्छ ।

काठमाडौं रि
यो कम्पनीमा ८ वटा वाणिज्य बैंक, ८ वटा बीमा कम्पनी, बसन्त चौधरी, राजेन्द्र खेतान, प्रभु ग्रुप, गोल्यान ग्रुप, शिवम् सिमेन्ट, मोर ग्रुप, सारदा ग्रुप, गोयल ग्रुप, बतास ग्रुप, महालक्ष्मी लाइफको लगानी रहेको छ । कम्पनीले १५ प्रतिशत लगानी विदेशी भित्र्याउने भनेको छ । कम्पनीमा देवेन्द्र प्रताप शाह, महेश गुरागाईं, रमेश कुमार भट्टराई, श्रीचन्द्र भट्ट लगायतका व्यक्तिहरुले व्यवस्थापनको काम गरिरहेका छन् । काठमाडौं रिका प्रस्तावकहरु पनि सिधै प्रधानमन्त्रीलाई भेटेर दबाव दिन सक्ने समुहमा पर्छन् ।

अन्नपूर्ण रि
अन्नपूर्ण रिमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, जिवा लामिछाने सहित केही गैरआवासीय नेपालीको लगानी रहनेछ ।

यो कम्पनीले लाइसेन्स पाए गैरआवासीय नेपालीको लगानी रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीले पनि लगानी गर्ने बताएको छ । उपेन्द्र महतोकी बहिनी जुली महतो ओली मन्त्रिपरिषदमा मन्त्री छिन् । महतोले बहिनी मार्फत नै ओलीसम्म दबाव बढाउन सक्छन् ।

जेन्युइन रि
यो कम्पनीमा बीमा विज्ञ डा. रविन्द्र घिमिरे, बीमा समितिका निवर्तमान कार्यकारी निर्देशक श्रीमान कार्की, बामदेव गौतम निकट युवा व्यवसायी बाबुराम थापा, म्यानपावर व्यवसायी रघु पुरी लगायतको लगानी रहने भनिएको छ । बामदेव गौतम मार्फत यो समुहले पनि ओलीलाई लाइसेन्सका लागि दबाव बढाउन सक्छ ।

प्रुडेन्सियल रि
यसमा आईएमई ग्रुप, विशाल ग्रुप, एनआरएनका पूर्व अध्यक्ष शेष घले लगायतको लगानी रहेको छ । विशाल ग्रुपलाई ओलीसँग निकट मानिन्छ । उनीहरुले पनि सिधै प्रधानमन्त्रीलाई भेटेर लाइसेन्सका लागि लबिङ गर्न सक्ने समुहका रुपमा लिईएको छ ।

सबै भन्दा योग्य कम्पनीलाई लाइसेन्स–बीमा समिति
बीमा समितिका अध्यक्ष सुर्य सिलवालले नयाँ पुनर्बीमा कम्पनकिो लाइसेन्स प्रक्रियाबारे कुरा गर्न चाहेनन् ।

समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने मापदण्ड बनाएर योग्य कम्पनीलाई लाइसेन्स दिइने बताए । ‘हामीले आह्वान गर्दा नै केहि मापदण्ड अघि सारेका थियौं, आवेदकहरुले बुझाएका विवरणहरु हेरेर सबै भन्दा राम्रो कम्पनीलाई लाइसेन्स दिने हो, बजारमा हल्ला गरिए जस्तो सेटिङले काम गर्दैन,’ पौडेलले सिंहदरबारसँग भने ।

दबावमा अध्यक्ष
बीमा समितिका अध्यक्ष सुर्य सिलवालमाथि पुनर्बीमा कम्पनीको लाइसेन्स प्रक्रियाले दबाव बढेको छ । गृह मन्त्रालयको सचिवको जिम्मेवारीबाट अवकास पाएका सिलवाललाई सरल स्वभावका हकी प्रशासक मानिन्छ । ठूला व्यवसायीक घरानाहरु लाइसेन्सका लागि भिडेपछि उनीमाथि दबाव बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE