Skip to content
Shikhar Insurance
National Life

गलत एक्चुरी चयनले प्रभु र महालक्ष्मी लाइफको मर्जर एक महिना पछि धकेलियो

Hyundai
NCELL
NIMB

काठमाडौं । गत असार मसान्तमा आपसमा मर्जरको प्रारम्भिक सम्झौता गरी स्वीकृतिको पाइपलाइनमा रहेका प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जर प्रक्रिया एक महिना पछि धकेलिएको छ । यी दुबै कम्पनीले बीमा बीमाङ्कीय मूल्याङ्कन (एक्चुरी)को कन्सल्टेन्ट एक्चुरी (पेयर रिभ्युअर) गराउँदा गलत कम्पनी चयन गर्दा बीमा प्राधिकरणले यी कम्पनीहरुको अर्को कम्पनीमा पुनः बीमाङ्कीय मूल्याङ्कन गराउन निर्देशन दिएको हो ।

बीमा कम्पनीहरुले लेखा परिक्षण अघि एक्चुरी गराउँनु पर्ने नियमकीय प्रावधान हो । यी कम्पनीहरुलाई प्राधिकरणले मर्जरको सैद्दान्तिक स्वीकृति दिइसकेको छ । सैद्दान्तिक स्वीकृति पाएसँगै यी कम्पनीहरुले वार्षिक साधारण सभामार्फत् मर्जर प्रस्ताव पारित गराएर प्राधिकरणमा पेश गर्नु पर्ने हुन्छ । सो पछिमात्रै यी कम्पनीहरुको मर्जरलाई प्राधिकरणले अन्तिम स्वीकृति दिन्छ ।

उक्त प्रक्रिया शुरु गर्नलाई यी दुबै कम्पनीले बीमाङ्कीय मूल्याङ्कन भारतीय एक्चुरी कम्पनी ‘ल्याक्कथान’ सँग गराएका थिए । भने कन्सल्टेन्ट एक्चुरी (पेयर रिभ्युअर)  समेत सोही कम्पनीमा गराएका हुन् । उक्त एक्चुरी कम्पनीले भारतसँगै बेलायतमा पनि एक्चुरी कम्पनी सञ्चालन गर्दै आएको थियो । तर, बेलायती बीमा नियामक निकायले कारवाही गर्दै कम्पनी नविकरण गरेको छैन । तर, भारतीय बीमा नियामकले भने कम्पनी नविकरण गरेको हुँदा प्रभु र महालक्ष्मीले सो एक्चुरी कम्पनीसँग बीमाङ्कीय मूल्याङ्कन गराएका थिए । जसको प्रतिवेदन प्रभु र महालक्ष्मी बीमा प्राधिकरणमा पेश गरेका थिए । प्राधिकरणले यी कम्पनीहरुले पेश गरेको बीमाङ्कीय मूल्याङ्कनलाई पेयर रिभ्युअर गराउन निर्देशन दिएको थियो ।

मर्जर तथा प्राप्तीमा जाने कम्पनीहरुको एक्चुरी रिपोर्टले देखाएको मुल्यांकनलाई पेयर रिभ्युअर गराउने पर्ने नियमकीय व्यवस्था हो । कम्पनीहरुले गराएको पेयर रिभ्युअरलाई प्राधिकरणको एक्चुरीले पाश गरेपछिमात्रै कम्पनीहरुले लेखा परिक्षण गराउन पाउँछन् ।

सोही अनुसार प्राधिकरणले आफ्नो एक्चुरीलाई पेयर रिभ्युअर गराउन निर्देशन दिएको थियो । यी दुबै कम्पनीले कन्सल्टेन्ट एक्चुरी भारतीय एक्चुरी कम्पनी ‘ल्याक्कथान’ सँगै गराएका हुन् । भने, प्रभु लाइफले रिपोर्ट समेत प्राधिकरणमा पेश गरिसकेको थियो ।

प्राधिकरणले सम्झौता गरेको भारतीय एक्चुरी कम्पनी ‘सुपरमनियम’ले प्रभुको पेयर रिभ्युअर गराएको कम्पनीको योग्यतामै प्रश्न उठाउँदै सो कम्पनीमा गराएको एक्चुरीलाई नै अयोग्य ठहर गरेको हो ।

यी कम्पनीहरुले पेयर रिभ्युअर गराएको एक्चुरी कम्पनीमै प्राविधिक समस्या देखिएको हुँदा पुनः अर्को एक्चुरी कम्पनीमा पेयर रिभ्युअर गराउन पत्रचार गरिएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए ।

‘प्रभु लाइफले पेयर रिभ्युअरको प्रक्रिया अघि बढाएको थियो,’ प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने, ‘प्रभु र महालक्ष्मीमै समस्या होइन । यी कम्पनीहरुको पेयर रिभ्युअर गराउने एक्चुरी कम्पनीमा केही प्राविधिक समस्या देखिएको हुँदा अर्को कम्पनीमा गराएर १५ दिन भित्रै रिपोर्ट पेश गर्न निर्देशन दिएका छौं ।’
प्रभु र महालक्ष्मीले नै एउटै एक्चुरी कम्पनीसँग पेयर रिभ्युअर गराएको हुँदा महालक्ष्मीको समेत समस्या समान नै रहेको उनले जानकारी दिए ।

‘दुबै कम्पनीको समस्या एउटै हो, दुबैलाई १५ दिनको समय दिएर नयाँ एक्चुरी रिपोर्ट पेश गर्न भनेका हौं, उनले भने, ‘१५ दिन भित्रै एक्चुरी रिपोर्ट ल्याउन भनेका छौं, उनीहरुले पेश गरेको पेयर रिभ्युअर रिपोर्ट पनि हाम्रो एक्चुरीले हेर्न केही समय लाग्छ ।’

प्राधिकरणको एक्चुरीले प्रभु लाइफले पेयर रिभ्युअर गराएको एक्चुरी कम्पनीको मुल्यांकनलाई आधिकारिकता नदिएपछि यी कम्पनीहरुको मर्जर प्रक्रिया पुर्वातय समय भन्दा करिब एक महिना सर्न सक्ने उनको अनुमान छ ।

प्रभु लाइफ इन्स्योरेन्सले पेश गरेको एक्चुरीको रिपोर्टलाई आफ्नो एक्चुरी कम्पनीले अयोग्य ठहर गरेको पत्र प्राधिकरणले पुस १९ गते पठाएको हो । प्राधिकरणले दिएको निर्देशन र समयसीमा भित्रै अनुसार अब पुन अर्को अर्को एक्चुरी कम्पनीसँग पेयर रिभ्युअर गराउने प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले बताए ।

‘हामीले पेयर रिभ्युअर गराएको कम्पनीको साइन नै भ्यालिड नभएको भन्दै १५अर्को कम्पनीमा गराउन प्राधिकरणबाट निर्देशन आएको छ,’ सीइओ प्रसाइले सिंहदरबारसँग भने, ‘पेयर रिभ्युअर गर्दा महालक्ष्मी र प्रभुको एउटै कम्पनीले गरेको हो । एउटाको ठिक नभएपछि दुबैको ठिक नहोला ।’
प्राधिकरणले दिएको समयसीमा भित्रै अर्को एक्चुरी कम्पनीसँग पेयर रिभ्युअर गराएर मर्जर प्रक्रियालाई अघि बढाउने उनले जनाकारी दिए ।

यता, महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि पुनः अर्को एक्चुरी कम्पनीसँग कन्सल्टेन्ट एक्चुरी गराउने तयारी गरिसकेको कम्पनीका सीइओ रमेश कुमार भट्टराइले सिंहदरबारलाई जानकारी दिए ।

‘हामीले पेयर रिभ्युअरको लागि रिपोर्ट पेश गर्न पाएकै थिएनौं, प्रभुले मात्रै गरेको थियो’, सीइओ भट्टराइले भने, ‘प्रभुको रिपोर्टमा समस्या आएपछि हामीले पनि अर्को कम्पनीलाई पेयर रिभ्युअर गराउने तयारी गरिसकेका छौं, यी घटनाक्रमले मर्जरलाई केही पछि अवश्य धकेलेको छ ।’ आवश्यक सम्पुर्ण प्रक्रिया समयमै पुरा गरी प्रभु लाइफसँग मर्जर सम्पन्न गर्ने उनले बताए ।

यी कम्पनीहरूबीच सेयर स्वाप रेसियो १ः१ अनुपातमा मर्जर सम्झौता भएकाे हाे ।  मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ प्रारम्भिक सम्झौता  भएकाे हाे भने, मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्सका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE