Skip to content
Shikhar Insurance
National Life

गम्भीर गल्ती गर्ने यी ९ बैंकमा राष्ट्र बैंकको विशेष निरीक्षण

Hyundai
NCELL
NIMB

काठमाडौं । केन्द्रीय बैंकले ९ वटा बैंक तथा वित्तीय संस्थामाथि विशेष निरीक्षण गरेको छ । राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र एउटा लघुवित्तलाई विशेष निरीक्षण गरी आवश्यक कारबाही गरेको हो ।

९ बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले गत आर्थिक वर्षमा गम्भीर गल्ती गरेको गुनासो तथा उजुरीको आधारमा विशेष निरीक्षण गरेको हो ।

विशेष निरीक्षणमा वाणिज्य बैंकहरुतर्फ बैंक अफ काठमाण्डू, सनराइज बैंक, प्रभु बैंक, सिभिल बैंक, नेपाल बंगलादेश बैंक र माछापुच्छ्रे बैंक परेका छन् । यस्तै सिन्धु विकास बैंक र ज्योति विकास बैंक तथा नाडेप लघुवित्त वित्तीय संस्थामाथि विशेष निरीक्षण गरेको हो ।

राष्ट्र बैंकले वार्षिक कार्ययोजना अनुसार सम्बन्धित सुपरिवेक्षण विभागमार्फत् नियमित स्थलगत तथा गैरस्थलगत अनुगमन तथा निरीक्षण गर्छ । तर, विभिन्न सरोकारवाला निकाय, व्यक्तिबाट आएको गुनासो तथा उजुरी र पत्रपत्रिकाले औंल्याएको गल्तीका आधारमा आवश्यकताअनुसार विशेष निरीक्षण गरिने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘सम्बन्धित सुपरिवेक्षणले जोखिममा आधारित निरीक्षण नियमित गरिरहेको हुन्छ तर यसबीचमा प्रहरी, अख्तियार, सम्पती शुद्धिकरण विभागलगायतमा व्यक्तिगत रुपमा आएका उजुरी वा गुनासोको आधारमा बैंकहरुमा विशेष निरीक्षण हुन्छ,’ प्रवक्ता ढकालले सिंहदरबारसँग भने, ‘गत आवमा बैंक तथा वित्तीय संस्थाहरुमाथि राष्ट्र बैंकले उजुरी कै आधारमा विशेष निरीक्षण गरेको हो ।’

राष्ट्र बैंकले उजुरीको आधारमा बैंकहरुको विशेष निरीक्षण गर्दा सोही उजुरीमा संवद्ध रहेर अधिकतम १ साता भित्रै सम्पन्न गर्ने गरेको उनले जानकारी दिए । राष्ट्र बैंकले यस्तो निरीक्षण सम्बन्धित बैंकमा सुपरीवेक्षणको टोली पठाएर वा बैंकलाई स्वयम राष्ट्र बैंकमा उपस्थित गराएर गर्ने गरेको छ ।

निरीक्षणको प्रतिवेदनले औंल्याएका विषयलाई राष्ट्र बैंकले थप अध्ययन गरी आवश्यक कारबाही अघि बढाउने र सम्बन्धित निकायमा रिपोर्ट पेस गर्ने उनले जानकारी दिए ।

यसबाहेक राष्ट्र बैंकले एएमएल–सीएफटी अर्थात् सम्पती शुद्धिकरण निवारण तथा वित्तीय आतंकवादको प्रतिरोध सम्बन्धि नियम उल्लंघन गरेको आशंका समेतमा १६ वटा वाणिज्य बैंकमा विशेष निगरानी गरेको छ ।

एएमएल–सीएफटी अन्तर्गत विशेष निरीक्षणमा पर्नेमा ग्लोबल आईएमई, सानिमा, सिद्धार्थ, कृषि विकास, एभरेष्ट, एनएमबि, सनराईज, बैंक अफ काठमाण्डू, एनसीसी, कुमारी, नेपाल इन्भेष्टमेण्ट, स्ट्याण्डर्ड चार्टर्ड, एनआईसी एशिया, नबिल, नेपाल एसबीआई र नेपाल बैंक हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्