Skip to content
Shikhar Insurance
National Life

गभर्नरलाई बैंकरले भनेः व्यवसायीलाई राहत दिईसक्यौं, अब हामीलाई चाहियो

Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकका सिइओहरुको संस्था नेपाल बैंकर्स संघले कोरोना प्रभावित उद्योगी व्यवसायीलाई सहुलियत दिने क्रम सकिएकाले अब बैंकहरुलाई सहुलियत दिनुपर्ने माग अघि सारेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग अनलाइन छलफल गर्दै संघले बैंकहरुलाई आफ्नै ढंगले व्यवसाय गर्ने अवसर दिनुपर्ने माग गरेका हुन् ।

‘कोरोना प्रभावित उद्योगी व्यवसायीलाई अहिलेसम्म सहुलियत दिईयो, उनीहरु विस्तारै पुरानै अवस्थामा फर्कदैछन्, अब बैंकहरुलाई आफ्नै ढंगले काम गर्न दिनु पर्यो भनेर गभर्नर साबसँग कुरा राख्यौं’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सिंहदरबारसँग भने ।

उनले कोरोना महामारी सुरु भएपछि उद्योगी व्यवसायीलाई ८० अर्ब बराबरको सहुलियत ऋण उपलब्ध गराएको, ब्याजदरलाई ११.७७ प्रतिशतबाट घटाएर ९ प्रतिशतमा झारेको, ठूलो मात्रामा पुनकर्जा वितरण गरिसकिएको बताए । ‘राष्ट्र बैंकको निर्देशन अनुसार हामीले अहिलेसम्म उद्यमी व्यवसायीका लागि योगदान दियौं, अब हामीलाई आफ्नै ढंगले व्यवसाय गर्न दिनुपर्छ भन्ने हाम्रो स्पष्ट माग हो’, बैंकर्स संघका अध्यक्ष दाहालले भने ।

बैंकरले सेयर कर्जा नघटाउन, सेवा शुल्कको सिमा नतोक्न, स्प्रेड दरमा पुनरावलोकन गर्न, पुनकर्जाको २ प्रतिशत मार्जिन बढाउन पनि आग्रह गरेका थिए । त्यस्तै, प्राथमिकता प्राप्त कर्जाहरु तोकिएको सिमा प्रवाह गर्न सक्ने अवस्था नरहेकाले त्यसमा पनि पुनर्विचार गर्न अनुरोध गरेका थिए ।

सीएसआरको पैसाबाट अस्पताल बनाऔं
बैंकर्सले संस्थागत सामाजिक उत्तरदायित्व(सीएसआर)को पैसाबाट सुबिधा सम्पन्न अस्पताल बनाउनुपर्नेमा पनि जोड दिएका थिए । सीएसआरको ५० प्रतिशत रकम संघमा राख्ने र बाँकी ५० प्रतिशत सम्बन्धित संस्थाले खर्च गर्न पाउने व्यवस्था गर्न सकिने पनि बताए । सबै बैंक तथा वित्तिय संस्थाको सीएसआरको पैसा र राष्ट्र बैंकको समेत केहि रकम हालेर सुबिधा सम्पन्न अस्पताल बनाउने तयारीबारे पनि जानकारी दिएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्