Skip to content
Shikhar Insurance
National Life

के नाफा कमाउनु अपराध हो ? पूर्व बैंकर भुवन दाहालको विचार

Hyundai
NCELL
NIMB

नेपाली समाजमा पछिल्लो समय नाफा कमाउनेहरुलाई गाली गर्ने लहर नै चलेको छ । कोही व्यवसायीले लगानी गरेर नाफा नै पाएन भने त ऊ पलायन भैहाल्छ । तर, यहाँ त नाफा कमाउनेहरुलाई चर्का स्वरमा गाली गर्नेहरुको संख्या बढिरहेको छ । के नाफा कमाउनु अपराध हो ? पक्कै पनि होइन लगानी गरेर त्यसको प्रतिफल(नाफा) प्राप्त गर्नु नैसर्गिक अधिकार हो । अर्थशास्त्रको आधारभूत नियमले पनि लगानीको प्रतिफल आउनुपर्छ नै भन्छ । त्यसकारण नाफा कमाउनु अपराध होइन, इथिकल प्रक्टिस अनुसार नाफा कमाउनु अनिवार्य छ ।

जो मान्छेले नाफा कमाउनेहरुलाई गाली गरिरहेका छन्, उनीहरु पनि कुनै व्यवसाय गरेर नाफै कमाइरहेका होलान् । यदि नाफा नै कमाउन चाहेका छैनन् भने सम्झनुस्, उनीहरु देशको विकास गर्नै चाहाँदैनन् । यहाँ सबैले बुझ्नुपर्ने कुरा पैसा कमाउनु र नाफा कमाउनु फरक हो । पैसा त जसरी पनि कमाउन सकिन्छ तर नाफा कमाउन लगानी गर्नुपर्छ । लगानी गरेपछि मात्रै नाफा हुन्छ । त्यसकारण नाफालाई हेर्ने हाम्रो दृष्टिकोण बदलिनुपर्छ भनिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नाफा सबैले कमाउन चाहान्छन् । उसको जति खर्च हुन्छ, त्योभन्दा बढी आम्दानी गर्न चाहान्छ । हामीले घरमै गरेका खेतीपातीमा पनि लागतभन्दा बढी आम्दानी होस् भन्छौं त्यो भनेको पनि नाफा नै हो । अफिसहरुमा जति खर्च हुन्छ, त्योभन्दा बढी कमाउँ भन्छौं, त्यो पनि नाफा नै हो ।

जो मान्छेले अरुले नाफा कमाए भनेर गाली गरिरहेका छन्, ती मान्छेले पनि नाफा कमाउन चाहान्छ । उसले नाफा कमाउन नसकेर अरुलाई गाली गरिरहेको हुुनसक्छ । कुनै पनि व्यक्तिले व्यवसाय गरेर नीति नियम भित्र रहेर नाफा कमाउनु कुनै पनि किसिमको अपराध होइन । त्यही नाफाका कारण सरकाले राजस्व पाउँछ, त्यही नाफा कमाउने संस्थाले रोजगारी र्सिजना गर्छ । त्यहि नाफाबाट पुनःलगानी भएर नयाँ उद्योग व्यवसाय खुल्छ, त्यसले थप रोजगारी र राजश्वमा योगदान दिन्छ । जसले मुलुकको अर्थतन्त्रमा योगदान पुग्छ ।

देशको नीति नियमभित्र रहेर नाफा कमाउनेलाई सम्मान दिनुपर्छ । हौसला बढाउनुपर्छ । जस्तोः काठमाडौंका एउटा व्यक्तिले नाफा कमायो भने त्यसको फाइदा कर्णालीका मान्छेले पनि पाउँछन् । किनभने हामीले कर तिर्छौं । त्यही करबाट बजेट बन्छ, कर्मचारीहरुले तलब खान्छन् । वृद्ध भत्ता बाढिन्छ । विकास निर्माणका कामहरु हुन्छन् ।

कर्णाली प्रदेशमा आज एकदमै कम आम्दानी भइरहेको छ, भोलिका दिनमा धेरै आम्दानी होला, त्यहाँ सम्भावना धेरै छन् । अहिले कर्णालीमा व्याप्त गरिबीलाई कम गर्न काठमाडौंमा, तराई मधेशमा नाफा कमाईरहेकाहरुको योगदान हुन्छ । त्यसकारण नाफा कमाउनु अपराध होइन, पुन्यको काम हो ।

लगानीकर्ताहरुले नाफा कमाएनन् भने रोजगारी नै सिर्जना हुँदैन, सरकारको राजस्व संकलन लगायतका आर्थिक गतिविधिहरु कमजोर बन्दै जान्छ । देशको आर्थिक गतिविधि बढाउन अर्थात अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नाफा कमाउनु पहिलो सर्त हो ।

मान्छेहरुले नाफा कमाउनेहरुलाई गाली गर्नुका दुई कारण छन् । एउटा कर खासै नतिरेर नाफा धेरै कमाए भन्ने सन्देश गैरहेको छ, त्यसले पनि नकारात्मकता बढाईरहेको छ ।
अर्काे कुरा आफूले नाफा कमाउन नसकेर इर्ष्यले पनि गाली गरिरहेका हुन सक्छन् । मिडियाहरुले पनि बैंकको नाफा यति अर्ब भयो, भनिरहेका हुन्छन् । तर कति लगानी गरेर कति नाफा कमायो (रिटर्न अर्न इक्वीटी) भन्ने तथ्य खासै उल्लेख गर्दैनन् । हामीलाई आफ्नो दुःख थाहा छ, अरुको दुःख थाहा छैन । जसले जुत्ता लगाउँछ, उसलाई मात्र जुत्ताले कहाँ दुखाउँछ भन्ने थाहा हुन्छ ।

हाम्रै बैंकको पनि हेड डिपार्टमेन्टका मान्छेहरुले सेल्सकाले यो गरेनन्, त्यो गरेनन् भन्छन् । जब उनीहरु सेल्स डिपार्टमेन्टमा आउँछन्, त्यसपछि उनीहरुले गरेको ठिक थियो, हामीलाई त्यही चाहियो भन्न थाल्छन् । त्यसैले मैले बैंकमा हरेक ५/५ वर्षमा सरुवा गर्ने नियम बनाएको थिएँ । ताकि सबैले सबैका सुःख र दुःखको अनुभव लिन सकुन् । ज्ञान कम भएर पनि हाम्रो समाज अलि एकांकी बनेको हो, जहाँ पनि खराब मात्रै देख्न थालेको हो ।

गरिब राष्ट्रहरुमा इर्ष्या बढी हुन्छ, नाफा कमाउनेहरुलाई गाली गर्नु भनेको देशलाई गलत बाटोमा लगाउनु हो जुन सर्वथा यो दुर्भाग्यपूर्ण छ । एउटा लगानीकर्ताले लगानी गरेर नाफा पाएन भने कम्पनी बन्द हुन्छ, त्यहा सिर्जना भएका रोजगारी बन्द हुन्छ, श्रमिकले तिर्ने आयकर त्यो पनि नहुने भयो । नाफा कमाएर लगानीकर्ताले तिर्ने आयकर र पनि बन्द हुने भयो । यसको चेन इफेक्ट राष्ट्रिय ढुकुटीमा देखिन्छ ।

एउटा उद्योगीले होटलमा लगानी गरे, यदि त्यो होटल चल्यो भने, उद्यमीले मात्र नाफा पाउँदैन, त्यँहा धेरै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना हुन्छ । त्यहाँ प्रयोग गरिने चामल, दाल, कपडाहरु हामीले सप्लाई गर्छौं । फाइभ स्टार होटल हो भने विदेशबाट मान्छेहरु आउँदा विदेशी मुद्राको संचिति बढ्छ । काठमाडौंको त्यो होटल राम्रोसँग चल्दा त्यसले तिरेको करबाट कर्णलीका मान्छेले लाभ उठाईरहेका हुन्छन् । अब होटल बन्द भयो भने प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी हराउँछ । उसले कर पनि तिर्नु पर्दैन, यसरी कर तिर्ने संस्थाहरु बन्द हुँदै जाँदा कर्णाली वा सुदुरपश्चिमको गरिबी उन्मुलन र विकास निर्माण पनि रोकिन्छन् । सामाजिक सुरक्षा भत्ताहरु पनि रोकिन्छन् ।

अब प्रश्न उठ्छ, नाफा त कमाउने तर कति ? नाफाको केहि मान्यताहरु छन् । हाम्रो सन्दर्भमा हेर्ने हो भने मुद्रास्फीतिभन्दा केहीप्रति बढी नाफा हुनु आवश्यक हुन्छ । अहिले नेपालमा मुद्रास्फीति ८ प्रतिशत आसपास छ । यो भन्दा कम नाफा हुने वित्तीकै मान्छेहरु लगानी गर्न अनिच्छुक हुनेछन् । किनभने, उसले लगानी गरेर ८ प्रतिशत मात्रै पाउँदैछ भने उसको मुल लगानी नै घट्ने अवस्था आउँछ ।

त्यसकारण लगानीबाट प्राप्त हुने नाफा भनेको मुद्रास्फीति र बैंक ब्याजदर भन्दा केही प्रतिशत बढी हुनु आवश्यक छ । नेपालमा बैंकहरुको नाफा कति हुनुपर्छ भन्ने हो भने मेरो विचार १५ प्रतिशत भन्दा बढीको रिटर्न अन इक्वीटी हुनुपर्छ ।

तल्लो तहका कर्मचारीहरुलाई आफ्नो तलब माथिल्लो तहका कर्मचरीको जति हुनुपर्छ भन्ने लाग्दछ । माथिकाहरुले सीइओको जति तलब पाए हुन्थ्यो भन्ने सोच्दछन् । सीइओहरुले आफ्नो कमाई विनोद चौधरी, शेखर गोल्छा, प्रदिप श्रेष्ठहरुको जति होस् भन्ने अपेक्षा राख्दछन् । चौधरीहरुले भने आफ्नो कमाई अम्बानी, अडानी र मस्कहरुको जति भैदियोस भन्ने सोच्दछन् । त्यसकारण आम्दानीको कुनै सिमा नहुन सक्छ ।

अहिलेको कतिपय व्यवसायीहरु मर्कामा परेका छन् । उनीहरुलाई यो अवस्थामा पनि बैंकले नाफा कमाउने ? भन्ने परेको छ । यतिबेला कुनै व्यवसाय सेल्स घटेर घाटामा गएको छ, त्यहि बेलामा ब्याजदर पनि बढ्दा घाउमा नुनचुक छरेको जस्तो भयो । त्यसैले अहिले बैंकहरुले प्रिमियमको दर नबढाउनु राम्रो हुन्छ ।

देशभरि नै धेरै व्यवयासीको सेल्स डाउन भयो । एकातिर सेल्स डाउन भएका कारण व्यवसायीहरु घाटामा जाने जोखिम बढेको छ भने, अर्काेकातिर बैंकले ब्याजजदर पनि बढाउँदा व्यवसायीहरु धेरै मर्कामा परेका हुन् । यो बेला बैंक र एफएनसीसीआई, सीएनआई र चेम्बरका बीचमा समझदारीको खाँचो छ ।

बैंकर र व्यवसायीहरुको समस्याबारे वृहद छलफल आवश्यक छ । किन की बैंक र उद्योग व्यवसायीहरुबीच समन्वय कम भएका काराण गाली गलोज बढेको हो । एउटै समाजमा बसेर काम गर्ने हुनाले एकले अर्काेलाई पर्दा सहयोग गर्नुपर्छ । बैंक र उद्योग व्यवसायीहरुले पनि एक अर्काेलाई पर्दा एकआपसमा मिलेर सहयोग गर्नुपर्छ ।

म फेरी पनि जोड दिएर भन्न चाहन्छु, नाफा कमाउनेहरु अपराधी होइनन्, यी उद्योग व्यवसायीहरुले कमाएका नाफाबाट राज्यले कर पाउँछ, नागरिकले रोजगारी पाउँछन्, पुनः लगानी हुन्छ, त्यसले फेरी रोजगारीका नयाँ अवसर सृजना हुन्छ । राज्यकोषमा जाने करको हिस्सा बढ्छ । गरिबी उन्मूलनमा सहयोग पुग्छ । विकास निर्माण र सामाजिक सुरक्षाका भत्ताका लागि सरकारको स्रोत बढ्छ र अन्ततः देश चल्छ । र समृद्धि, समानताको अभियान सफल बनाउन मदत पुग्छ । त्यसकारण, नाफा कमाउनेहरुलाई सम्मान गरौं । छलेर, गुणस्तरहिन सामान प्रयोग गरेर, मान्छेलाई झुक्याएर, कानुन उल्लघंन गरेर कमाउने नाफालाई निरुत्साहित गरौं, तर कानुन पालना गर्दै नाफा कमाउनेलाई सम्मान गरौं ।-पूर्व बैंकर दाहालसँग गरिएको कुराकानीमा आधारित

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE