काठमाडौं । नेपाल राष्ट्र बैंकको व्यवस्थापन समुहले कर्णाली डेभलपमेन्ट बैंकको निक्षेपकर्ताहरुको रकम भुक्तानी गर्न सुरु गरेको छ । बैंकले पुस १७ गते एक सुचना जारी गर्दै प्रथम चरणमा प्रति शाखा अधिकतम ५० जनाको निक्षेप भुतानी गर्ने जानकारी दिएको हो ।
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकमा हाल रहेको तरलताको अवस्थालाई दृष्टिगत गरी बिरामी, वृद्ध र बालबालिकालाई औषधी उपचार प्रयोजनको लागि २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेपका लागि निक्षेपकर्ताहरुले बिरामी, वृद्ध र बालबालिका भएको कार्ड पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
पहिलो चरणमा केन्द्रिय कार्यालय, नेपालगंज, बाँके, तुल्सीपुर शाखा, तुल्सीपुर दाङ्ग, लमही शाखा, लमही, दाङ्ग, गुलरिया शाखा, गुलरिया, बर्दिया, बाँसगढी शाखा, बाँसगढी, बर्दिया, भुरिगाउँ शाखा, भुरिगाउँ, बर्दिया, घोराही शाखा, घोराही, दाङ्ग, कोहलपुर शाखा, कोहलपुर, बाँके, खजुरा शाखा, खजुरा, बाँके, सानोश्री शाखा, सानोश्री, बर्दिया, भालुवाङ्ग शाखा, भालुवाङ्ग, दाङ्गका शाखा कार्यालयहरुमार्फत निक्षेप भुक्तानी गर्ने राष्ट्र बैकले जनाएको छ ।
त्यसैगरी, गढवा शाखा, गढवा, दाङ्ग, राजापुर शाखा, राजापुर, बर्दिया, ठाकुरद्वारा शाखा, ठाकुरद्वारा, बर्दिया, नारायणपुर शाखा, नारायणपुर, दाङ्ग, सिसहनिया शाखा, सिसहनिया, दाङ्गका शाखा कार्यालयहरुमा निक्षेप भुत्तानी हुने भएको छ ।
निक्षेपकर्ताको निक्षेप विहान ११ बजेदेखि भुक्तानी सुरु हुनेछ । संस्थाको तरलता व्यवस्थापन हुदैँ जाने आधारमा निक्षेप भुक्तानी कार्य क्रमश: वृद्धि गर्दै लगिने समेत राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले पुष १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो । अर्को व्यवस्था नभएसम्मका लागि कर्णाली विकास बैंकको व्यवस्थापन राष्ट्र बैंकले हेर्ने राष्ट्र बैंकले जनाएको थियो ।
उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप(निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको थियो ।
नेपाल राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित प्रचलित कानुनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिएको थियो ।
व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीमा लेखेको छ, ‘कर्णाली डेभलपमेन्ट बैंकले यस बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशड़ा भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी यस बैंकको नियन्त्रणमा लिइएको हो ।’
राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
उक्त संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम २०८१ मङ्सिर ११ गतेदेखि लागु हुनेगरी शीघ्र सुधारात्मक कारवाही गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्