Skip to content
Shikhar Insurance
National Life

नियमनमा लुपहोल खोजी बैंकको कर्जा क्षमता बढाउने चलाखी, एउटै निक्षेप ४ बैंकले गणना गर्दै

Hyundai
NCELL
NIMB

काठमाडौं । नीति निर्देशनमा ‘लुपहोल’ खोज्दै बैंकहरुले चलाखी गर्न थालेपछि राष्ट्र बैंकले बैंकरलाई चेतावनी दिएको छ । राष्ट्र बैंकले २०७९ असार मसान्तसम्म कर्जा–निक्षेप (सीडी) रेसियो ९० प्रतिशत कायम गर्ने निर्देशन दिएको छ ।

यसअघि लागु ८५ प्रतिशतको पुँजी–कर्जा–निक्षेप (सीसीडी) रेसियोलाई खारेज गर्दै केन्द्रीय बैंकले सीडी रेसियोको व्यवस्था गरेको हो ।बैंकहरुले कर्जा क्षमाता बढाउन सीडी रेसियो गणनामा चलाखी गरेका हुन् । सीडी रेसियोमा बैंकहरुले निक्षेपमा ऋणपत्र, रिफाइनान्स र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कुनै एक बैंक ग्राहकसँग संकलन गरेको निक्षेप अर्को बैंकमा ब्याज प्राप्त गर्ने गरी राख्न नपाउने व्यवस्था केन्द्रीय बैंकको छ । तर, विदेशी मुद्रामा संकलित निक्षेपलाई भने अर्को बैंकको मुद्दति निक्षेपमा राख्न पाउने सहुलियत राष्ट्र बैंकले यसअघि नै बैंकहरुलाई दिएको हो ।

उक्त सहुलियतको गलत प्रयोग गर्दै बैंकहरुले सीडी रेसियो गणनाको गलत व्याख्या गरी ‘लुप होल’ खोजी कारोबार गर्न थाले पछि बैंकरहरुलाई बोलाएर चेतावनी दिइएको राष्ट्र बैंक सुपरिवेक्षणका एक अधिकारीले बताए ।

‘विदेशी मुद्रामा प्राप्त निक्षेपलाई एक बैंकले अर्को बैंकमा मुद्दतिमा जम्मा गर्ने पाउँछन्, तर सो निक्षेप बैंकमार्फत् लिएको हो भने कुल निक्षेपमा गण्ना हुँदैन,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘एक बैंकले निक्षेपमा गणना गरी सकेपछि अर्को बैंकले पनि प्राप्त निक्षेपलाई गणना गर्दा कृतिम निक्षेप बढी देखियो ।’

विदेशी मुद्रामा प्राप्त निक्षेपको वास्तविक परिमाण नबढ्दा पनि एक बैंकले अर्को बैंकमा डिपोजिट गर्दा कृतिम निक्षेप बढेको देखाएर सीडी रेसियो कायम गरी कर्जा प्रवाह गरेको ती अधिकारीले बताए । ‘१० करोड विदेशी मुद्राको निक्षेप ४ वटा बैंकसम्मले गणाना गरेको देखिए पछि सुपरिवेक्षण विभागमार्फत् २७ वटै बैंकका सीइओहरुलाई भर्चुअल माध्यबाट सम्झाएका छौं,’ उनले भने ।

कृतिम निक्षेप बढाउने बैंकहरुलाई गल्ती सच्याउन र आगामी दिनमा सो गल्ती कुनै पनि बैंकले नगर्ने प्रतिवद्धता राष्ट्र बैंकले बैंकर्ससँग लिएको स्रोतले बतायो ।

यसअघिसम्म राष्ट्र बैंकको प्रावधानअनुसार पुँजीलाई समेत सीसीडीमा गणना गर्दा बैंकहरुको कर्जा क्षमता बढी थियो । तर, सीडी रेसियोमा सो नहुँदा अधिकांश बैंकहरुले तोकिएको रेसियो कटाएर नै कारोबार गरिहेका छन् ।

तर, राष्ट्र बैंकले क्रमिक रुपमा बैंकहरुको सीडी रेसियो घटाउँदै जान भनेपछि विदेशी मुद्रामा प्राप्त निक्षेपलाई कुल निक्षेपमा देखाएर सीडी रेसियो व्यवस्थापन बैंकहरुले गरेका हुन् ।

कुल निक्षेपमा सबैभन्दा बढी विदेशी मुद्रा एनआइसी एशिया बैंकमा रहेको स्रोतको भनाइ छ । सानिमा बैंकले समेत यस्तो प्रकारको विदेशी मुद्राको निक्षेप ३ वटा वाणिज्य बैंकमा राखेको छ भने ती बैंकहरुले भने अन्य बैैंकहरुको मुद्दतिमा राखेको पाइएको हो ।

केही बैंकहरुले कृतिम निक्षेप बढाएको गुनासो बैंकरहरुमार्फत नै आएपछि सोमा अध्ययन गर्न थालिएको राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए । जसमा विस्तृत छलफल बैंकर्ससँग राष्ट्र बैंकले बुधबार गरी सकेको उनले जानकारी दिए ।

बैंकर्स संघको तथ्यांकअनुसार असोज ८ गतेसम्म वाणिज्य बैंकहरुसँग १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा मौज्दात छ ।

 

यो पनि पढ्नुहोस्ः

‘सीईओहरुले राष्ट्र बैंकको नीतिमा लुपहोल खोज्ने हैन, सस्टेनेबल बैंकिङ गर्ने हो’

GBIME

प्रतिक्रिया दिनुहोस्