Skip to content
Shikhar Insurance
National Life

एक करोड बिमा रकमका लागि श्रीमतीको हत्या आशंका, एसियन लाइफ शंकाको घेरामा

Hyundai
NCELL
NIMB

काठमाडौं । बिमा रकमका लागि योजनाबद्ध रुपले बिमितको हत्या गरेको उजुरी परेपछि एसियन लाइफ इन्स्योरेन्सको एउटा भुक्तानी विवादमा परेको छ । एसियन लाइफले बिमित हजरा खातुनको निधनपछि निजका पति नाथु देवानलाई १ करोड २ लाख मृत्यु दाबी भुक्तानी गरेको थियो । तर, निज देवानले बिमित श्रीमतीको योजनाबद्ध रुपले हत्या गरेको आरोप लागेको हो ।

मृतक खातुनका माइतीपक्षले आफ्नी छोरीलाई बिमा रकमका लागि ज्वाइँले हत्या गरेको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी र बिमा प्राधिकरणमा उजुरी दिएका छन् । प्राधिकरणको मधेस प्रदेश कार्यालयमार्फत नेपाल बिमा प्राधिकरणमा पेस भएको उजुरीमा बिमित खातुनको उनका पति नाथु देवान, एसियन लाइफका अभिकर्ता नासिर अन्सारीलगायतले भारतीय अपराधीहरुको प्रयोग गरेर पर्साको फेटा गाउँपालिकास्थित इँटा भट्टामा लगेर हत्या गरेको दाबी गरेका छन् ।

मृतक हजरा खातुनका पिता शाहिद देवानका अनुसार बिमितको मृत्युवापत प्राप्त बिमा रकममध्ये २२ लाख ५६ हजार रुपैयाँ एसियन लाइफकै अभिकर्ता नासिर अन्सारीलाई सीधै कम्पनीले भुक्तानी दिएको छ । ५० लाख रुपैयाँ भने गुहेश्वरी मर्चेन्टमा ऋण तिर्ने प्रयोजनका लागि भन्दै भुक्तानी गरिएको र बाँकी रहेको ३० लाख रुपैयाँ भने पुनः बिमा गर्ने भन्दै एसियन लाइफमै फर्काएको आरोप पनि उजुरीकर्ताले लगाएका छन् । उजुरीकर्ता शाहिद देवानले गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी नै एसियन लाइफका अध्यक्ष दीपक श्रेष्ठ र सीईओ दिनेशलाल श्रेष्ठको लगानी रहेको दाबी पनि गरेका छन् ।

उजुरीकर्ता देवानले आफ्नी छोरीको योजनाबद्ध ढंगले हत्या भएकाले प्रहरीमा उजुरी दिएको बताउँदै बिमा प्राधिकरणले तत्कालै छानबिन गरी बिमा रकम रोक्का गर्न पनि माग गरेका छन् । मृतक खातुनका दुई सन्तानका नाममा बिमा रकम भुक्तानीको व्यवस्था गरी हत्यामा संलग्नहरुलाई कानुनी कारबाही गर्न पनि उनले माग गरेका छन् ।

यस्तो थियो बिमा र दाबी भुक्तानी
एसियन लाइफले बिमित हजरा खातुनको दुर्घटनामा परि मृत्यु भएको भन्दै उनका पति नाथु देवानलाई बिमा बापतको रकम भुक्तानी गरेको थियो । सञ्चालक समिति अध्यक्ष दीपककुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबी बापतको चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायत पनि उपस्थित थिए ।

त्यसबाहेक कलैया शाखा प्रबन्धक सोनालाल सहनी र अभिकर्ता नाजिर अन्सारीलगायतको उपस्थिति रहेको थियो । कलैया उपमहानगरपालिका-२६ निवासी नाथु देवानले वार्षिक ३ लाख ७१ हजार ७ सय ५० रुपैयाँ बिमाशुल्क किस्ता तिर्ने गरी पत्नी हजरा खातुनको २०७८ असार २९ गते दोहोरो बिमांक सुविधासहित ५० लाख बिमांकको वार्षिक धनलाभ बिमालेख खरिद गरेका थिए ।

बिमितबाट बिमा शुल्कको दुई किस्ताबापत जम्मा ७ लाख ४३ हजार ५ सय रुपैयाँ भुक्तानी भएको थियो । कम्पनीले बिमालेखको बिमांकबापत ५० लाख, दोहोरो बिमांक (टु एक्स) वापतको ५० लाख र बोनस रकमसमेत १ करोड २ लाख ५६ हजार ५ सय ७५ रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्