Skip to content
Shikhar Insurance
National Life

इम्बोस्ड नम्बर प्लेट भएमात्र ब्लुबुक रिन्यु हुने, कति खर्च लाग्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए ।

विभागले मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो । उनका अनुसार विभिन्न स्थानमा इम्बोस्ड नम्बर प्लेट भएनभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ । उनले भने, “नयाँ र पुरानो सबैमा गरी २५/२६ प्रकारका सवारीसाधन सबैमा अनिवार्य गरिनेछ ।”

नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड अनिवार्य जडानका लागि तयारी अघि बढाइएको प्रवक्ता डा भुषालले बताए । कम्पनीले प्लेट छापेर यातायात व्यवस्था कार्यालयमा पठाइरहेको छ । उनले भने, “अबको एक वर्षभित्रमा सबै सवारीसाधनमा जडान गरिसकिने योजना छ ।”

पहिले अदालतमा मुद्दाका कारण र पछिल्लो समय कोभिडका कारण उच्च सुरक्षासहितको सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) को कार्यान्वयन सुस्त भएको थियो । विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पोरेसन) सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो ।

गत जेठमा अवधि सकिएकामा केही समय पहिले मात्रै अवधि थपिएको हो । प्रविधियुक्त सो नम्बर प्लेटको प्रयोगले सवारीसाधनको चोरी, राजस्व छली र आपाराधिक क्रियाकलाप रोक्ने अपेक्षा गरिएको छ । सम्झौतामा वैयक्तिक नामाङ्कन र सूचनाप्रविधि पूर्वाधारसमेत निर्माण गरिने उल्लेख थियो । आधुनिक र वैज्ञानिक नम्बर प्लेट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बोलपत्र आह्वान गरिएको थियो ।

सम्झौताका आधारमा आपूर्तिकर्ता कम्पनीले २५ लाख कार्डसँगै सवारी धनीलाई इम्बोस्ड प्लेट प्रणालीमा आवद्ध गराउन र सवारीसाधनका लागि कम्प्युटर प्रणालीबाट नम्बर प्लेट जारी गर्न वैयक्तिक कार्यक्रमलगायत सफ्टवेयर निर्माण गर्ने उल्लेख थियो । सो सफ्टवेयर तयार भएर सञ्चालनमा आइरहेको छ ।

त्यस्तै नम्बर प्लेट छपाइका लागि प्रयोग हुने मेसिनरी उपकरण जडान तथा सञ्चालन गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख थियो । सडक विभागसँगको समन्वयमा ‘स्टिकर’ वा ट्यागजडित सवारीसाधनको विद्युतीय अनुगमनका लागि १० स्थानमा गेट निर्माण गरिनेछ । काठमाडौँ उपत्यकामा नागढुङ्गा, जगाति, नागार्जुन, फर्पिङ, जोरपाटी र उपत्यकाबाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर तथा अत्तरियामा गेट  निर्माण हुनेछ ।

संविधानअनुसार देवनागरी लिपीमा लेखिने नेपाली भाषा नै सरकारी कामकाजको भाषा भएकाले नम्बर प्लेटमा नेपाली अक्षर हुनुपर्ने माग गर्दै विसं २०७४ फागुनमा रिट दर्ता गरिएको थियो । सो मुद्दामा अदालतले अन्तरिम आदेश दिएकाले नम्बर प्लेट जडान रोकिएको थियो ।

उक्त मुद्दामा रिट खारेज गरेपछि पुनः अघि बढाउन बाटो खुलेको थियो । अदालतले छिमेकी देशले पनि इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी भाषा नै प्रयोग गरेको र नेपालको छिमकी देशसँग अन्तरदेशीय पारवाहन सम्झौता भएकाले अङ्गेजी भाषाको प्रयोग अनुपयुक्त नहुने जनाएको थियो । भाषाविद्हरुले सो नम्बर प्लेट नेपाली भाषामा नै हुँदा उपयुक्त हुने बताउँदै आएका छन् ।

यातायात व्यवस्था विभागले मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २ हजार ९ सय, चारपांग्रे तथा मझौला सवारीलाई ३ हजार २ सय र हेभी सवारीलाई नम्बर जडान गर्न ३ हजार ६ सय रुपैँया शुल्क निर्धारण गरेको छ।

९९ प्रतिशत आल्मुनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको र उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुने बताइएको छ।

यसको कडा पन एच ४१ र एच ४२ हनेछ भने मोटाई ०.९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड रहेको हुनेछ।

प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुनेछ।

प्लेटको माथि प्रदेश जनाउने अंग्रेजीमा लेखिएको हुनेछ। त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र सो को मुनी बढीमा ४ अंक लेखिएको हुनेछ।

दुईपांग्रे बाहेकका सबै साधनहरुमा अगाडि वाइड स्क्रिन ग्लासको भित्रपट्टीबाट आरएफआइडी एण्टीना स्टिकर राखिएको छ।

मोटरसाइकलको हकमा पछाडीपट्टीको नम्बर प्लेटमा विषेश प्रकारको कभरको डिजाइन गरी चिप्स राखिएको हुन्छ र सो मा आरएफआइडी स्टिकरको सम्पूर्ण विवरण राखिएको हुन्छ।

यो नम्बर प्लेटले नेपालमा हाल प्रयोग भइरहेका २५/२६ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा सीमित गर्नेछ।

अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामूनी माथिबाट हल्का निलो रङहुँदै तल गाढा निलो रङ, एनइपी अक्षर, एनइपी अक्षर मुनी लालिगुराँससहितको नेपालको निसान छाप हुनेछ।

त्यस्तै सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कुटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था रहेको छ। त्यस्तै सबै प्रकारका सवारी साधनहरुको नम्बर प्लेट अगाडि लामो र पछाडि चर्तुभुज आकारको हुनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्