Skip to content
Shikhar Insurance
National Life

आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार होः  गृहमन्त्री श्रेष्ठ

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ र नेपाल–अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज आयोजित ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ वितरण समारोहमा मन्त्री श्रेष्ठले देशलाई सामाजिक–आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने राष्ट्रिय कार्यभार रहेको बताए।

“मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा समृद्ध बनाउन राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबै नेपालीलाई एकाकार बनाउनुपर्छ”, उपप्रधानमन्त्रीले भने, “सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचानलाई बचाउँदै लैजानुपर्छ । हाम्रो पहिचान एकता र सहिष्णुताको मौलिक संस्कार बन्दै आएको छ । त्यसलाई कहीँकतैबाट पनि कमजोर बनाउने काम हुनुहुँदैन ।”

नेपालमा भ्रष्टाचार महारोगका रुपमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्रीले मुलुकमा सुशासन कायम गर्ने काममा सहयोग पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरे। “नेजाले नेपालको विकट भेगमा कार्यरत सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सहयोग र सङ्गठित गर्दै ग्रामीण पत्रकारितामा सहयोग पुर्याइरहेको छ, मुलुकको सामाजिक–आर्थिक विकासमा पत्रकारिता क्षेत्रले सहयोग गर्नुपर्छ, लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ”, उनले भने।

सामजवादोन्मुख लोकतन्त्रलाई संस्थागत गर्न सरकार दृढताका साथ लागिपरेको बताउँदै उनले नेपाली पत्रकारिताले जनतालाई सुसूचित हुन सघाएको उल्लेख गरे। आर्थिक सामाजिक विकासमा ठूलो सहयोग गरेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रिनलाई संयुक्तरुपमा ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ प्रदान गरे। पुरस्कारको राशि दुई लाख २२ हजार दुई सय २२ रहेको छ । शाही ‘सन्धान अनलाइन’ र पाख्रिन ‘कान्तिपुर टेलिभिजन’मा आबद्ध छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालको पत्रकारिताको गुणात्मक विकासका लागि नेजाले सहयोग गर्दै आएको बताए। उनले अप्ठ्यारोमा परेका पत्रकारलाई नेजाले सहयोग गरेर साथीको भूमिका निर्वाह गरेकामा त्यसको सराहना गरे।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भूगोलका हिसाबले दुर्गम भए पनि प्रविधिको विकासले सबै क्षेत्रलाई सहज बनाएकाले पत्रकारिता गर्न सजिलो भएको बताए।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्तिले प्रविधि र समाजको जोखिम सामना गर्नुपर्ने अवस्था कायमै रहेको बताए।

नेपाल पत्रकार महासंघका सल्लाहकार निर्मला शर्माले पत्रकारितामा सत्यतथ्यको पुष्टि गर्ने विषय चुनौतीपूर्ण रहेको बताए।

महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकार जुन देश वा भूगोलको भए पनि आफूले कार्यस्थलमा रहँदा सम्बन्धित देशको कानुन पालनालाई उच्च प्राथमिकता दिनुपर्ने बताए।

नेजा अध्यक्ष सुरज भण्डारी, पूर्वअध्यक्ष गौतम दाहाल, महासचिव बाबुराम दाहाल, महासंघका महासचिव रोशन पुरीलगायतले नेजाले नेपालको ग्रामीण क्षेत्रको पत्रकारिताको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे।

GBIME

प्रतिक्रिया दिनुहोस्