Skip to content
Shikhar Insurance
National Life

आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्नः प्रधानमन्त्री दाहाल

Hyundai
NCELL
NIMB

काठमाडाैं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गरेका छन् । यही साउन १७ देखि राजधानीमा चलेको केन्द्रीय समिति बैठकको समापनका क्रममा उनले भ्रष्टाचार विरोधी अभियानमा आफ्ना र अरू नभनी दोषी ठहरिएकालाई कडा कारबाही गरिने बताए।

“तपाईंलाई म प्रस्टसँग भन्छु, यसमा आफ्ना वा अरू कोही भनिने छैन । आफ्नै टाउकोमा आगो सल्काएरमात्र हामीले यो अभियानलाई निष्कर्षमा पुर्‍याउन सक्छौँ”, प्रधानमन्त्री दाहालले भने, “त्यसैले तपाईंहरू कोही पनि भ्रमित नहुनुहोला । सरकार दृढतापूर्वक अगाडि बढ्छ ।”

उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताए । “भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा जुन कदम चालिएको छ, यसले सिङ्गो देशको फोहोरमात्र सफा गर्ने छैन, कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नेछ”, प्रधानमन्त्री दाहालले भने । भ्रष्टाचारविरुद्धको अभियान कुनै आवेग वा उत्तेजनामा सुरु नगरिएको दोहोर्‍याउँदै उनले यस अभियानबाट भ्रष्ट शक्ति र प्रवृत्ति अत्तालिएको बताए ।

पाँचदिन चलेको केन्द्रीय समितिको बैठक सिङ्गो देश, कम्युनिष्ट आन्दोलन र पार्टीको रूपान्तरणका दृष्टिले ऐतिहासिक भएको उल्लेख गर्दै अध्यक्ष दाहालले तीनमहिने अभियानबाट पार्टीलाई नयाँस्तरमा विकास गरिने बताए । “बैठकमा जुनस्तरको वैचारिक, साङ्गठानिक र भावनात्मक एकतासहित मूल नेतृत्वको वरिपरि केन्द्रीकरण भएको छ, यसले माओवादी पार्टी र आन्दोलनलाई नयाँ उचाइमा उठाउनेछ”, उनले भने ।

उनले अहिलेको परिस्थितिमा देशको सबैभन्दा क्रान्तिकारी र प्रगतिशील विचार र कार्यक्रमको नेतृत्व गर्ने पार्टी माओवादी नै भएको दाबी गरे । अध्यक्ष दाहालले भने, “हामीले महाधिवेशनबाट प्रस्ट गरेका छौँ, हामी समाजवादको तयारीमा जान्छौँ । समाजवादको तयारी शान्तिपूर्ण रूपमा गर्छौं । यो कार्यदिशामा पार्टीभित्र प्रस्टता र एकरूपता जरूरी छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्