Skip to content
Shikhar Insurance
National Life

‘आफैँ धितो बसेर ऋण लिएर गरिबलाई दिने लघुवित्तहरु मास्न सरकार नै लागिपरेको छ’

Hyundai
NCELL
NIMB

केहि समय पहिले लघुवित्त कम्पनीहरु विरुद्ध आन्दोलन नै चल्यो । लघुवित्त पीडितहरुका नाममा संघर्ष समिति नै बनाएर सुरु भएको आन्दोलनलाई प्रहरी लगाएर पक्राउ पुर्जी जारी गर्दै निस्तेज पार्न कम्पनीहरु सफल भए । तर लघुवित्त कम्पनीहरुले पहिल्यैदेखि खेप्दै आएका आरोपहरुबाट भने मुक्ति पाएका छैनन् । अर्थमन्त्री आफैंले लघुवित्त कम्पनीहरुको ब्याज महंगो भयो भनिरहेका छन्, नेपाल राष्ट्र बैंकले पनि लघुवित्तहरुको प्रवर्द्धन गर्न छाडेर अब नियमन गर्ने भन्दै विभागीय संरचनाको नामै परिवर्तन गरिसकेको छ ।

लघुवित्त कम्पनीहरु लगानीका लागि स्रोतको चरम अभाव खेपिरहेका छन् । नाफा र लाभांशमा पनि चौतर्फी प्रश्नहरु उठिरहेका छन् । यीनै विषयको सेरोफेरोमा रहेर नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मासँग सिंहदरबारका लागि दिलु कार्कीले गरेको कुराकानी ।

बैंकहरु नै लगानीको स्रोत अभाव झेलिरहेका छन्, यस्तो अवस्थामा लघुवित्त कम्पनीहरुले कसरी व्यवसाय सञ्चालन गरिरहेका छन् ?
समग्र रुपमा नेपालको लघुवित्तलाई मात्र नभएर बैंकिङ क्षेत्रलाई पनि कोभिड पछि विभिन्न कारणले तरलताको अभाव परेको छ । त्यसमा ग्राहकहरुमा आर्थिक रुपमा परेको प्रभावले गर्दा कर्जाको गुणस्तर खस्केको अवस्था छ । विभिन्न कारणले कम्पनीले र ऋणीको परफरमेन्स घटेको छ । हामीले लगानीका लागि पाउने मुख्य स्रोत वाणिज्य बैंकबाटै हो । बैंकहरुको विपन्न वर्ग कर्जाको रकम लिएर हामीले ऋण लगानी गर्ने हो । स्रोतको ब्याजदरका आधारमा हामीले दिने कर्जाको ब्याजदर निर्धारण हुन्छ । बाणिज्य बैंकहरुले दिने स्रोत खुुम्चियो भने हाम्रो लगानी पनि खुम्चिन पुग्छ । त्यसकारण लघुवित्त कम्पनीहरुको परफरमेन्समा पहिले भन्दा केही असर परेको कुरा साँचो हो ।

पीडितहरुको नाममा संघर्ष समिति नै बनेर आन्दोलन पनि भयो, त्यसले पनि व्यवसायमा असर गरेको हो की ? अनि के तपाईँहरुले साच्चै दुःख दिएको, शोषण गरेको हो ?
केही समूहले लघुवित्तको कर्जा तिर्नु पर्दैन, लघुवित्तले शोषण गर्याे भन्ने कुराहरु उठाएर हामीलाई बदनाम बनाउने प्रयास गरे । एउटा कुरा स्पष्ट होस, नेपाल सरकारको योजना अनुसार नेपाल राष्ट्र बैंकको लाइसेन्सका सर्त अनुसार हामीले सेवा प्रवाह गर्ने हो । दायाँ बायाँ भयो भने नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानीले समातिहाल्छ, हामीले ऋणीहरुलाई दुःख दिने, शोषण गर्ने भन्ने त कुरै आउँदैन् । तर संघर्ष समितिका नाममा भएको आन्दोलनले हाम्रो व्यवसायमा केहि असर गरेकै छ । त्यसले कर्जाको गुणस्तरमा समेत असर पर्ने गरेको छ । यी सबै कारणहरुले हाम्रा वित्तिय विवरणहरुमा केहि असर परेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको नियमनको दायरा भित्र पर्ने संस्थाहरु भएकाले हामी पारदर्शी छौैं । हाम्रो वित्तीय विवरणहरु प्रकाशन गर्दा हाम्रो वित्तिय विवरणहरु प्रष्ट देखिन्छ । हामी नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनी पनि हौं ।

व्यवसाय विस्तारमा संकुचन, नाफामा संकुचन, आम विश्वास नै घटिरहेको छ भन्ने जस्तो कुरा आयो, त्यसो भए के लघुवित्तहरुको भविष्य सकिएको हो त ?
माइक्रोफाइनान्सहरुमा देखिएको समस्या अल्पकालिन हो । फेरी पनि हाम्रो सेवा विस्तारको सम्भावना प्रचुर छ । यो संकट अल्पकालिन परिस्थिति हो जस्तो लाग्छ । अहिलेको राजनीतिक अस्थिरता, चुनावको कारणले राजनीतिक लाभ लिनका लागि लघुवित्तहरु विरुद्ध कुप्रचार भएको हो । अर्काे कुरा यिनीहरु नाफाखोर हुन्, लाभांश धेरै बाँड्यो भन्ने कुराहरु पनि आएको छ । जहाँसम्म लाभांशको कुरा छ, गत वर्ष राष्ट्र बैंकबाट पोलिसी आयो २० प्रतिशतभन्दा माथि लाभांश दिनका लागि घोषित लाभांशको ५० प्रतिशत साधारण जगेडा कोषमा राख्नु पर्यो ।
र अहिले खुल्ला भइसकेको छ । गत वर्ष चुक्ता पूँजीको ३० प्रतिशत भन्दा बढी लाभांश नदिने र बचत निक्षेपकोे ब्याजदर भन्दा बढी हुने गरेर नदिने भन्ने नियम थियो । वा ५ प्रतिशत भन्दा कम हुन्छ भने त्यसलाई कर प्रयोजनका लागि मात्रै दिने भन्ने व्यवस्था थियो ।

त्यसमा लघुवित्तले २० प्रतिशत भन्दा बढी लाभांश वितरण नगरुन भन्ने राष्ट्र बैंकको मनसाय देखिन्थ्यो । अहिले २० प्रतिशत भन्दा बढी लाभांश दिनुपर्ने भएमा सोको ५० प्रतिशतले हुन आउने रकम साधारण जेगडा कोषमा राख्नुपर्नेछ । र बाँकी रकमको लाभांश वितरण गर्ने सुबिधा प्राप्त छ ।
यो व्यवस्थाले त पुँजी बजारका कारोबारीलाई नोक्सानी हुने देखियो नी, होइन र ?
दोश्रो बजारमा छोटो समयका कारोबारीहरुलाई यसले पक्कै पनि असर पार्छ । तर दिर्घकालिन लगानी गर्ने सोँच भएका लगानीकर्ताहरुले यसबाट मनग्गै लाभ पाउन सक्छन् । दुई चार महिना सेयर होल्ड गर्ने भनेको आम साधारण लगानीकर्ताहरुले हो र यो व्यवस्थाले उनीहरुकै हित गरेको देखिन्छ । तर आज सेयर किनेर केहि दिनमै बेचेर तत्कालिन मूल्य उचार चढाव श्रृंखलाबाट प्रतिफल खोज्नेहरु भने यसबाट केहि प्रभावित नै हुनेछन् । कम्पनीहरुको साधारण रिजर्भमा राखिने पैसाको प्रतिफल पाउन भने लगानीकर्ताहरुमा धैर्य राख्न आवश्यक छ ।
त्यसकारण, लामो समय लगानी गर्ने लगानीकर्ताहरु र सेयर होल्डरहरु आत्तिनु पर्ने अवस्था मैले देख्दिन् । लामो समय लगानी गर्ने लगानीकर्ताहरुलाई केही असर गर्दैन् किन की संस्था बलियो हुन्छ र लगानीकर्ताको प्रतिफल दोब्बर हुँदै जान्छ ।

तपाईहरुको प्रतिफलमाथि धारे हात लगाउनेहरु पनि छन्, एउटा कम्पनीले गरिबलाई ऋण दिएर यत्रो नाफा कसरी कमाउँन सक्छ ? यत्रो प्रतिफल कसरी सम्भव हुन्छ भन्नेहरुलाई तपाईको जवाफ के हो ?
पक्कै पनि लघुवित्त कम्पनीहरुले नेपालमा सर्वाधिक प्रतिफल दिँदै आएको तथ्य जगजाहेरै छ । त्यसरी प्रतिफल दिन कसरी सम्भव भयो भनेर पनि हेर्नु पर्छ । हामी वाणिज्य बैंक होइनौं, हामी नामैले लघु वित्त कम्पनी हौं । हामी सानो पुँजीमा ग्रामिण वस्ती वस्तीमा पुगेर लगान गर्छाै । मूल्य भनेको जोखिमको हुन्छ, हामी बिना धितो समुह समुह बनाएर ऋण लगानी गर्छाै । समुदायस्तरमा गएर लगानी गर्ने हुनाले हाम्रा ऋणहरु खराब पनि हुँदैनन् ।

अर्थात हामी ग्रामिण वस्तीमा सुरक्षित लगानी गर्छाै । अर्काे कुरा भनेको लघुवित्तहरुले चुक्ता पूँजीको ३ गुणा बढी सम्म स्रोत परिचालन गर्न पाउने सुबिधा छ । ४० करोड पूँजी भएका कम्पनीले १२ अर्ब रुपैयाँसम्म कर्जा लगानी गर्न पाउँछन् । १२ अर्बको लगानी गर्दा त्यसको आम्दानी र प्रतिफल पुँजी अनुपातमा अत्यधिक देखिन जान्छ । हामीले हाम्रा सदस्यहरुको बचतसँगै अन्य बैंकहरुबाट पनि कर्जा सापटी ल्याएर सदस्यहरुमा ऋण प्रवाह गर्छाै । वाणिज्य बैंक वा अन्य बैंकहरुको तुलनामा हाम्रा ऋणी र ग्राहक संख्या एंव आधार पनि वृहद हुन्छ । अहिले बाणिज्य बैंकहरुको करिब १६ लाखको हाराहारी ऋणी छन् । हामी लघुवित्तहरुले ३५ लाख ग्रामिण नागरिकहरुलाई आफ्नो नेटवर्कमा ल्याएर ऋण प्रवाह गरेका छौं । यो भने वाणिज्य बैंकहरुको तुलनामा दोब्बर भन्दा पनि बढी हो । नियामकिय प्रवाधान र लघुवित्तहरुको कार्य क्षेत्रको प्रकृतिका आधारमै हामीले उच्च मुनाफा र प्रतिफल दिन सकेका हौं ।
आजका दिनमा पनि अधिकांश लघुवित्तहरुले वाणिज्य बैंकहरुको भन्दा पनि राम्रो प्रतिफल लगानीकर्तालाई दिन सक्षम छन् र यो क्रम भोली पनि निरन्तर रहनेछ ।

नाफा, प्रतिफल र पुँजी सम्बन्धी यस्तो वास्तविकता बाहिर ल्याउन नसक्नु त तपाइँहरुकै कमजोरी भयो नी, होइन र ?
हामीलाई दोष आउनुमा सेयर बजारको पनि ठुलो हात छ । प्रति सेयर आम्दानीको हिसाबले ५ प्रतिशतमा दिने वाणिज्य बैंक तथा वित्त कम्पनी भन्दा हाम्रो व्यवसाय ४०।४२ प्रतिशत बढी हुन्छ । नम्बर हेर्ने प्रवृत्ति बढ्यो तर नम्बर कसरी आयो भन्ने कुराको विश्लेषण भएन ।
अघि नै पनि प्रसंग उठिसकेको छ की हामी आफैलाई धितोमा राखेर बैंकहरुबाट पैसा लिन्छौं र बिना धितो समुहमा लगानी गर्छाै । लघुवित्तहरुले करिब ४ खर्ब लगानी गरेका छौं र त्यसको ८२ प्रतिशत अर्थात करिब ३ खर्ब रुपैयाँ त बिना धितो नै लगानी भएको छ । लघुवित्तहरुको कार्य प्रणाली नै नबुझि नाफा र प्रतिफललाई मात्रै हेरेर गाली गरिनु सर्वथा अन्यापूर्ण हुन्छ ।

पछिल्लो समय लघुवित्त कम्पनीहरु खारेज गरिनुपर्छ भन्दै केहि समुहरु सडकमै आएका छन्, त्यो विषय नबुझ्नुको परिणाम हो । नियामक र सरकारले पनि यसबारेमा चनाखो हुनु आवश्यक देख्छु । बिना धितो ऋण लिने अनि तिर्न छाडेर सडकमा आउने कुरा ठिक भएन् ।
लघुवित्तको संरचना नभएपछि हामी फेरि त्यो युगमा फर्किन्छौं जुन बेला ३६ प्रतिशतदेखि ६० प्रतिशतसम्मको ब्याजदरमा साहुहरुबाट ऋण लिनुपर्ने बाध्यता हुन्थ्यो ।
लघुवित्त संरक्षण भनेको नीजि क्षेत्रको सेयर होल्डीङ र पूँजी बजारको संरक्षण मात्रै होइन, देशको अर्थव्यवस्थाको पनि संरक्षण हो । वित्तीय पहुँचलाई कसरी संरक्षण गर्ने त्यसको सुनिश्चितता पनि हो ।

यी सबै समस्याहरुको जड कहाँ हो ?
पछिल्लो समय लघुवित्तमा जुन (ओपन लाइसेन्स) वितरण गरियो, त्यसबाट धेरै लघुवित्त संस्थाहरु दर्ता भए । त्यसले गर्दा लगानीकर्ताको मानसिकता फरक फरक हुन सक्छ । केहि लगानीकर्ताहरुले उच्च प्रतिफलका लागि व्यवस्थापनलाई दबाव दिँदा समस्या आएको हो । जुसुकै संस्था चलाउनका लागि प्रोफेशनल नेतृत्व, दक्ष कर्मचारी आवश्यक हुन्छ । सञ्चालक, व्यवस्थानको नेतृत्व र आम कर्मचारीले आ आफ्नो भूमिका अनुसारको जिम्मेवारी पुरा नगर्दा यस्ता समस्याहरु आउने हुन् । संस्थाहरुको संख्या बढेपछि लघुवित्त क्षेत्रमा दक्ष कर्मचारीहरुको अभाव खड्किँदै आएको छ । केहि संस्थाका उच्च व्यवस्थापन देखि शाखा प्रमुखहरुसम्मले साधारण ग्राहक हित संरक्षणका कुरा पनि बुझ्दैनन् । तिनलाई लघुवित्तका सिद्धान्तहरु नै थाहा छैन् । त्यस्तो व्यवस्थापन र कर्मचारीहरुका कारण पनि केहि बदनामी खेप्नु परेको छ । केहि केहिले भने लघुवित्तका सिद्धान्त र नियामकिय व्यवस्थाको लुपहोल प्रयोग गरेर विकृति भित्र्याएका छन् ।

लघुवित्तको ब्याज कम गर्न र पर्याप्त स्रोत व्यवस्थापनका लागि सरकारले कोष बनाउने भनेको थियो, त्यो कहाँ पुग्यो ? तपाईहरुको भूमिका के छ त्यसमा ?
लघुवित्तहरुलाई न्युन ब्याजदरमा पर्याप्त स्रोत उपलब्ध गराउने भनेर सरकारले बजेट मार्फत कोषको अवधारणा ल्याएको थियो । हामीले न्युन लागतमा स्रोत पायौं भने न्युन ब्याजमै ऋण दिने हो । त्यसले विपन्न वर्गलाई न्युन ब्याजमा ऋण उपलब्ध हुन्छ । त्यो त ग्रामिण क्षेत्रमा गरिवी निवारणका लागि कोशेढुंगा नै सावित हुन्छ । अर्थमन्त्रालयले कोषको कार्यविधि बनाईरहेको छ । हामी पनि त्यसमा निरन्तर छलफल र सुझाव दिईरहेका छौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्