Skip to content
Shikhar Insurance
National Life

आज र भोली रात्रिकालिन यात्रा नगर्न गृह मन्त्रालयको आग्रह, भारी वर्षाको सम्भावना

Hyundai
NCELL
NIMB

काठमाडौं । गृह मन्त्रालयले मंगलबार र बुधबार (साउन २२ र २३ गते) यात्रा गर्दा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै यात्रा नगर्न सुझाएको हो । जल तथा मौसम विज्ञान विभागले साउन २२ र २३ गते भारी वर्षा र अति भारी वर्षा हुनसक्ने र यसले पाँच वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ ।

उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशमा ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम छन् । बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा रहेका छन् । त्यसैगरी, गण्डकी प्रदेशमा म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग, गोरखा छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ्ग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम रहेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका छन् । भारी वर्षा हुने जिल्लाहरुमा विपद्का घटना बढ्न सक्ने हुनाले सात वटा काम नगर्न भनेको छ ।

क. रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रीकालीन बस नचलाउने ।

ख. भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्ने ।

ग. जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी र प्रतिकार्य गर्न विपद् सम्बन्धी काम गर्ने साझेदार संस्थाहरुले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहने।

घ. भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरुमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरुका तीनवटै सुरक्षा निकायहरु तयारी अवस्थामा रहने ।

ङ. भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्ने ।

च. नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दाहरु चनाखो रहने । सुरक्षा निकाय, एम्बुलेन्स लगायतका जरुरी टेलिफोन नम्बरहरु राख्ने र आपत परे तुरुन्तै फोन गर्ने।

छ. दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने ।

GBIME

प्रतिक्रिया दिनुहोस्