Skip to content
Shikhar Insurance
National Life

अर्थविद् भन्छन्ः ५७ लाख युवा बेरोजगार, कोरोनाले २० प्रतिशत प्रताडित

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थविद् प्राडा विश्वम्भर प्याकुरेलले मुलुकका झण्डै ५७ लाख ६० हजार श्रम गरेर खान सक्ने युवा बेरोजगार रहेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको आर्थिक वर्ष २०७८/७९ छलफल कार्यक्रममा प्राडा प्याकुरेलले मुलुकमा १५ देखि २९ वर्ष उमेर समूहका युवाको यति ठूलो हिस्सा बेरोजगार हुँदा विकासले गति लिन नसक्ने बताए ।

उनले भने, “कोरोनाले थलिएको हालको अवस्थामा १९ दशमलव २ प्रतिशत युवा प्रताडित भएका देखिन्छ ।” यसैगरी मुलुकका ८५ प्रतिशत महिला घरायसी काममा मात्र संलग्न रहँदा उनीहरुको लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको प्याकुरेलको भनाइ छ । “सरकारले १०/१० वर्षको बीचमा मात्रै तीन लाख रोजगार सिर्जना गर्न सक्षम नहुँदा वर्षेनी बेरोजगारी समस्या बढ्दै गएको हो” उनले भने ।

अर्का अर्थविद् प्राडा शङ्कर शर्माले सरकारले विभिन्न कामका लागि प्रवाह गर्ने भनिएको ऋण सहयोग उत्पादित क्षेत्रमा भन्दा अनुत्पादित क्षेत्रमा प्रयोग भइरहेकाले त्यसतर्फ मध्यनजर गर्न जरुरी रहेको सुझाव दिए । उनले भने, “सरकारले आउँदो आवका लागि बजेट त ल्यायो तर यो सही ठाउँमा प्रयोग भइरहेको छ वा छैन भनी अनुगमन गर्न समेत जरुरी देखिन्छ ।”

अर्थशास्त्री डा चन्द्रमणि अधिकारीले सरकारले सार्वजनिक गरेको बजेटले सर्वहारा वर्गलाई छुन नसकेको धारणा व्यक्त गरे । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशीका साथै विदेशी बजारमा समेत उत्पादन बढाएर अघि बढ्ने योजना बनाइरहेको बताए ।

गोदावरी इकोनोमिक्स फोरमका सल्लाहकार भरत थापाले विकासको चाहनामा भूगोल बिर्सदा प्राकृतिक विपत्ती बढिरहेकाले यसतर्फ दृष्टिगत गर्न जरुरी रहेको भनाइ राखे । उनले भने, “मुलुकका हाइड्रोपावरहरु खोला छेउछाउमा छन् । यसैगरी प्राकृतिक विपत्ती बढ्दै गएमा तिनीहरुको समेत जोखिममा पर्ने हुँदा यसतर्फ बेलैमा सोच्नुपर्ने देखिन्छ ।” सङ्घका अध्यक्ष जगनाथ महर्जनले गोदावरी क्षेत्र आर्थिक विकास सूचकाङ्कमा पछि परेको बताउँदै यहाँबाट व्यवस्थित बजार सञ्चालन गर्न केही स्थानका पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी रहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्