Skip to content
Shikhar Insurance
National Life

अर्थमन्त्री अराजक भए, अर्थतन्त्र श्रीलंकाको भन्दा जर्जर बन्दैछ (विचार)

Hyundai
NCELL
NIMB

अर्थतन्त्र गम्भीर संटको मोडमा पुगेको विषय सर्वत्र चर्चा भइरहँदा पनि सरकार सञ्चो मानेर बसिरहेको छ । अर्थ मन्त्रालयले लिनुपर्ने पहकदमी नलिएपछि राष्ट्र बैंकले ढिलो भएपनि आफ्नो तर्फबाट काम गरको थियो ।

त्यसपछि आफ्नो सरकारको कमजोरी ढाकछोप गर्नुपर्ने स्थिति पैदा भयो । अर्थ मन्त्रीले धमाधम अघिल्लो सरकार र राष्ट्र बैंकको गभर्नरमाथि आरोप पोख्न थाले ।

गठबन्धन सरकार आएपछि खाद्यवस्तु, यातायात, पेट्रोलियम पदार्थको मूल्य वृद्धि बढेकाले उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो । मूल्य बढेको अनुगमन गर्ने मन्त्री (उद्योग, वाणिज्य तथा आपूर्ति) सरकार बनेको ९ महिनापछि नियुक्त भए । बजार अनुगमनको सिन्को भाँचेको छैन ।

आम सर्वसाधारणमा ‘हामी श्रीलंका त हुँदैनौं ?’ भन्ने डर छ ।

८ महिनामा १५ खर्बको आयात भइसकेको छ । यही दरले बढे वर्षभर २२ खर्बको आयात हुन्छ । २ खर्बको मात्र निर्यात भएपनि २० खर्ब व्यापार घाटा के बाट धान्ने ? धान्न अरु किसिमको स्रोतले नधान्ने भएकाले श्रीलंका जस्तो संकट आउन सक्छ भन्ने डर भएको हो । जीडीपीको ४५ प्रतिशत व्यापार घाटा हुने सम्भावना छ, जुन थेग्नै नसक्ने दर हो ।

चालु खर्च खाता हेर्दा हाम्रो आम्दानीभन्दा अहिलेसम्म ४ खर्ब रुपैयाँ बढी खर्च गरेका रहेछौं । यो जीडीपीको १० प्रतिशतभन्दा माथि हो । वित्तीय संकट भएको मुलुकमा यस्तो दर ८ प्रतिशतभन्दा माथि जानुलाई खतराको घन्टी मानिन्छ । नेपालमा पनि त्यो घन्टी बजेकाले संकट उन्मुख भनिएको हो ।

अघिल्लो आवको अन्त्यमा झिनै भएपनि भुक्तानी सन्तुलनमै थियो । मौद्रिक नीति समयमै ल्याएको र ब्यालेन्स अफ पेमेन्ट सुधार्न प्रयास गरेको भए हालसम्म राम्रै हन्थ्यो । तर, बजेट नै नल्याउने, मौद्रिक नीति ल्याउन पनि नदिने कामले ब्यालेन्स अफ पेमेन्ट २६० अर्बले ऋणात्मक छ । यही हिसाबले वर्षभर ४ खर्ब पुग्ने स्थिति छ ।

बैंकिङ प्रणालीमा तरलता वा अधिक कर्जा प्रवाह समस्य भन्छौं । कोही बैंकबाट पैसा हरायो भन्ने कथा सुनाउछौं । तर, यथार्थ के हो भने बैंकिङ प्रणालीमा लगानीयोग्य रकम छैन ।

बैंकिङ प्रणालीबाट पैसा हराउनको कारण के हो त ? राजस्व चुहावट, तस्करी, भ्रष्टाचार, कमिसनको पैसा बैंकिङ प्रणालीमा आउने कुरै भएन । घरजग्गाको कारोबारमा मुल्य बढ्दै गयो, तर त्यसअनुसारको कारोबार भएन । यसर्थ व्यापारी जग्गा बेचेर पैसा होल्ड गरेर बसे । अनि बैंकमा पैसा कसरी आउँछ ?

आधुनिक प्रविधिमा आधारित कारोबार, क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायत डिजिटल मुद्रामा लगानी गर्ने प्रवृत्तिमा सरकारले ध्यान नपुर्याउँदा पनि पैसा त हराउन नै भयो ।

कर्जा प्रवाह बढिरहने, बाहिर गएको रकम फर्केर नआउने, सरकार प्रायोजित व्यापार विचलन (नचाहिने वस्तु आयात गराउने, अवैध प्रणालीबाट पैसा बाहिर पठाउने) कामले पनि पैसा हरायो ।

पैसा हराउने खेलमा सरकार नै लाग्यो । आउने भन्दा जाने बढी भएकाले तरलताको संकट आएको हो ।

अर्कातर्फ सरकारी वित्त प्रणाली अनिश्चय र अन्योलमा फसेको छ । बजेटमा खेल्न खोज्दा विकास निर्माणका काम अघि बढाउने २–३ महिनाको समय यसै गुज्रेको छ । महिनाको १० प्रतिशत पुँजीगत खर्च गर्नेजस्ता उट्पट्याङ वक्तव्यबाजी गर्ने सरकारले ९ महिनामा २६ प्रतिशत पुँजीगत खर्च गर्न सकेको छैन । चालु खर्चको कुरै नगरौं ।

प्रदेशको पनि उही ताल छ । गठबन्धन टिकाउने संघदेखि प्रदेशसम्म उस्तै नचाहिने काम गरिएका छन् ।

प्रदेशको मन्त्रालयको संख्या संघकै बराबर छ । प्रदेश विकासमा लगाउनुपर्ने खर्च तलब–भत्ता, घोडागाडीमा लागेको छ । प्रदेशको बजेट खर्च २५ प्रतिशत पनि छैन । सरकारी संस्थानको हबिगत उस्तै छ ।

नेपाल विद्युत प्राधिकरण प्रतिदिन करोडौं घाटा सहेर विद्युत आयत गरिरहेको छ । लोडसेडिङ हुन नदिन ३ गुणा बढी महसुल तिरेर आयात गर्नुको विकल्प छैन, तर, त्यहाँको नेतृत्वमा रहेको व्यक्ति नाफा भएको चर्चा गरिरहेका छन् ।

नेपाल आयल निगमले गठबन्धनको ९ महिनामै ३५ अर्ब घाटा बेहोरिसकेको छ । हिजोको सरकारले सञ्चिति गरिदिएको १५ अर्ब रित्तिएको छ । नेपाल वायुसेवा निगम झन् चिन्ताजनक छ । निगम सुधार्न अघिल्लो सरकारले चालेको कदम यो सरकारले रोकेको छ ।

सरकारका आर्थिक नीति असंगतीपूर्ण हुँदै गएका छन् । यो सरकारमा सहभागी दलबीच आर्थिक नीति, सहायता परिचालन र अर्थतन्त्रमा निजी क्षेत्रको भुमिका जस्ता आधारभुत आर्थिक अवधारणामा पनि विरोधाभाष रहेको तथ्य सडकमै छताछुल्ल भइसकेका छन् । गठबन्धन जोगाउने बाहेक कुनै सोच नभएको सरकारले समग्र विकासका लागि पुँजी बजारको विकास, दातृ निकायको सहयोग, निजी क्षेत्रको स्रोत र क्षमताको परिचालन र आर्थिक क्षेत्रमा संरचनात्मक सुधारमा ध्यान दिने र अपेक्षा गर्ने स्थिति नै रहेन ।

अन्तर्राष्ट्रिय संस्थाको सहयोग स्वीकार्ने कुरामा होस् वा वातावरण सुधार गर्दै निजी क्षेत्रको लगानी बढाउने विषयमा होस्, सरकारको फरक दृष्टि कोषका कारण निजी क्षेत्र दातृ निकाय देखि कर्मचारी र नागरिक समाजसम्ममा नैराश्य फैलिएको छ ।

सरकार विकास साझेदारको विश्वास गुमाउँदै छ । आफूले हस्ताक्षर गरेको काममा गठबन्धन साझेदारले सडकमा कार्यकर्ता उचाल्ने र संसदमा एमसीसी पारित गर्ने जस्ता काम गरेर जग हँसाए ।

यसले दातृ निकायमा संसय र अविश्वासको वातावरण सिर्जना भएको छ । नेपालको अन्तराष्ट्रि छविमात्र बिग्रिएन, दातृ निकायमको सदासयता समेत घटेको छ ।

चीनका परराष्ट्रमन्त्रीको भ्रमणका बेला बीआरआई सहयोग अन्तर्गतका परियोजना अघि बढाउने अवसर यो सरकारले गुमाएको छ । नेकपा एमालेको सरकार हुँदा बीआरआई अन्तर्गत १ दर्जन परियोजना अघि बढाइएको थियो ।

अर्थप्रणाली गलत र अदृष्य तत्वको हातमा गएको भन्ने हाम्रो पार्टीको भनाइ छ । खासगरी भुमाफिया कालोबजार र तस्करहरुको चंगुलमा अर्थतन्त्र फसेको छ । सरकार औपचारिक भन्दा अनधिकृत व्यापारलाई प्रोत्साहित गर्दै बाह्य क्षेत्र कारोबारलाई ध्वस्त पार्न उद्धत छ ।

अघिल्लो वर्षभन्दा सयौं गुणा बढी केराउ सुनचाँदी जस्ता वस्तुको आयात गरी व्यापार गराउने ध्यय सरकारले राखेको देखिन्छ । व्यापारमा बिचलन बढ्दै गएको छ ।

विदेशी मुद्रा सटहीमा अनौपचारिक क्षेत्रबाट चलेको बट्टादरबाट नै हुण्डी बढेको कुरा स्पष्ट हुन्छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा पनि रेमिट्यान्स औपचारिक च्यानलबाट आउँदैन भने हुण्डीको कारोबार फस्टाएको कुरा स्वतः बुझ्न सकिन्छ ।

सिरानीमुनी पैसा लुकाइएको छ, झिक्छु भन्नेजस्ता अभिव्यक्ति दिने र विपरित नियुक्ती र निर्णय गरेर छद्म गतिविधि गर्दा अर्थतन्त्र थप संकटमा गएको भान हुन्छ । सिरानी मुनी पैसा छ भने झिक्नुपर्छ, यसले अफवाह फैलाएको छ । सरकारले डिमोनिटाइजेसन त गर्दैन ? भनेर हामीलाई सोध्छन् । मैले भनेको छु, सरकारले गर्ने भए हल्ला किन गर्थ्यो र ? अहिले आतंकमात्र फैलाउने काम भएको हो ।

यस्ता हल्काफुल्का कुरा गरेर सरकारले व्यवसायलाई त्रसित, शंकाको घेरामा र अन्योलमा पसाउनु हुँदैन ।

कर्मचारीलाई निजी स्वार्थ अनुसार हिँडाएर सरकार चुनाव खर्च उठाउन लागिपरेको छ । योग्यता, क्षमता र विशेषज्ञता भएका कर्मचारीलाई एकातिर थन्काइएको छ भने आसेपासे र सेटिङ मिलाउन सक्नेलाई पायक पर्ने ठाउँमा सरुवा गर्ने र त्यसबाट अनधिकृत लाभ लिने काममा गठबन्धन तल्लीन छ ।

यसकारण पनि सरकारप्रति व्यवसायीक क्षेत्रको विश्वास गुम्दै छ । खासगरी निजी क्षेत्र सरकारसँग निराश छ । निहित स्वार्थ केन्द्रित नीतिगत भ्रष्टाचार गरिएको छ ।

प्रतिस्थापन बजेटमार्फत बजेटमा गढबडी गरिएको छ । अर्थतन्त्र डुब्ने खरता छ भन्ने कुरा हामीले पहिल्यै भनेका हौं ।

राजस्व अनुसन्धान र सम्पत्ति शुद्धिकरण विभाग जस्ता निकायको आफू अनुकुल परिचालन गरी इमानदार व्यवसायीलाई आतंकीत गरिएको छ । सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले आश गर्न छाडेको छ । सर्वत्र नैराश्य फैलँदै देशले श्रीलंकाको बाटो पहिल्याएको त होइन ? भन्ने सन्त्रास उब्जिएको छ ।

निजी क्षेत्र र विकासका सबै साझेदारहरुलाई विश्वासमा लिँदै संकटउन्मुख अवस्थालाई साधारण स्थितिमा ल्याउन सरकार पूर्ण असफल भएको छ ।

सरकारले नै सम्पत्ति शुद्धिकरणको चपेटामा छ । हामी झन्डै अनुगमनमा परेको र कालोसूचीमा पर्ने अवस्थामा भएका बेला मिहिनेत गरेर, कानुन निर्माण गरेर मुलुकलाई बचाएर अहिलेको अवस्थामा ल्याएका हौं । त्यतिबेला कानुनहरु बनायौं, त्यसलाई परिपालना गराउने कुरामा प्रयास भइरहेका छन् । सरकारले थप काम गर्नुपर्नेमा उल्टो बाटोमा हिँडेको छ ।

कोभिडका कारण रोकिएको सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धि अन्तर्राष्ट्रिय मुल्यांकन चलिरहेकाले नेपालको पनि चाँडै पालो आउँछ । यसबेला कानुनी व्यवस्थामा सारभुत परिमार्जन गर्नु आवश्यक छ ।

यसलाई सम्बोधन गर्न नेपालमा राष्ट्रिय मूंल्यांकन तयार गरी हाम्रै सरकारका पालमा मन्त्रिपरिषदसम्म पुर्याइएको हो । त्यसलाई गठबन्धन सरकारले अघि बढाएको छैन । स्रोत नखुलेको सम्पत्ति चोख्याउने प्रयास रोक्नुपर्नेमा त्यस्तो सम्पत्ति भित्र्याउने र त्यस्तो पुँजी लगानी हुने व्यवसायलाई छुट दिने निर्णयमार्फत् गठबन्धन सरकार आफैं त्यतातर्फ उद्धत भएको देखिन्छ । यसले सन् २०२२ अन्त्यमा हुने मूल्यांकनमा देशलाई नै अप्ठेरो पर्न सक्छ ।

पछिल्लो उदाहरण विदेशबाट आएको अनधिकृत ४० करोड रकम छुटाउन अर्थमन्त्री स्वयमले राष्ट्र बैंकलाई दिएको दबाबसम्बन्धि घटनाबाट पनि छर्लंग हुँदै जान्छ । यसरी सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धि सरकारको प्रतिवद्धता र कार्यान्वयन फितलो हुन थालेका कारण नेपाल अन्तर्राष्ट्रि अनुगमनमा पर्ने जोखिम बढेर गएको छ ।

अनुगमनमा पर्नु भनेको ग्रे हुँदै कालोसूचीमा जाने बाटो हो । एमसीसी पास गर्न गरेको आनाकानीले दातृनिकायको नजर फेरेको छ । ब्याकलिस्टमा पनि परेपछि नेपाललाई कसैले पत्याउँदैनन् ।

एशियाली विकास बैंकले ४% भन्दा कम आर्थिक वृद्धि हुने भनेको छ । सरकारले दाबी गरे झैं ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान तथ्यांक विभागले गर्‍यो भने हामी पनि ताली पिटौंला ,नहुँने कुराको डिंगा पिटेको रैछ भने त्यतिबेला थप कुरा गरौंला ।

अहिले वृद्धि होइन, अर्थतन्त्र नै धरासयी हुने हो कि भन्ने चिन्ता बढेर गएको छ ।

चुलिँदो आर्थिक संकटप्रति अर्थमन्त्रीको अनभिज्ञता र वेवास्ताप्रति आम लगानीकर्ता, उद्योग व्यवसायीदेखि सर्वसाधारण सबैले यो सरकारप्रति कुनै आशा भरोशा राखेका छैनन् ।

गभर्नरमाथि पूर्वाग्रही कारबाही गैरकानुनी हुने रहेछ भन्ने काँग्रेसले कहिल्यै चेतेन । तपाईंहरुलाई थाहै छ, २ जना गभर्नरलाई यसरी नै निलम्बन गरिएको थियो र उहाँहरु इज्जतसाथ अदालतको निर्णयबाट पुनर्बहाली हुनुभएको थियो । २०५८ सालमा बनेको नेपाल राष्ट्र बैंक ऐनमार्फत् नेपाल राष्ट्र बैंकलाई स्वायत्तमात्र होइन, जिम्मेवार पनि बनाइएको छ । जिम्मेवार निकायका प्रमुखले अक्षम अपराध नगरुञ्जेल कुनै कारबाही गरिँदैन । गम्भीर अपराध गरेको भए त्यो कुरा कानुनी ढंगले अघि बढ्नु पर्छ । कुनै आग्रह पूर्वाग्रहले काम गर्दैन ।

त्यो कुरालाई सांकेतिक रुपमा भन्न खोजेका छौं ।

काँग्रेस सरकार भएका बेला राष्ट्र बैंकको गभर्नर हटाउने कुरा भएको छ । केन्द्रिय बैंक नेतृत्वविहिन भएका बेला अर्थतन्त्र कसरी संकटग्रस्त भएको थियो । नोट छाप्नै नसक्ने स्थिति भएको थियो । त्यतिबेला हामीसँग २ वटा विकल्प थिए । तत्कालीन राजा ज्ञानेन्द्रको श्रीपेच भएको नोट र भारु मुद्रा हामीसँग थिए । त्यतिबेला सरकारले श्रीपेच भएका नोट हटाउनु भनेको थियो, ढुकुटीमा नयाँ नोट थिएनन् । हामीले बाध्य भएर क्याबिनेटको निर्णय गरेर श्रीपेच भएका नोटलाई १ वर्ष थपेर चलाउनु परेको थियो । त्यस्तो स्थिति फेरि नहोस् भनेर सजग गराउन चाहन्छौं ।

सरकारले आफ्नो नालायकीपन छोप्न गभर्नर निलम्बन गरेको छ । सरकारले प्रायोजित रुपमा गभर्नरमाथि गरेको कारबाही आपत्तिजनकमात्र नभएर निन्दनीय पनि छ ।

अराजक अर्थमन्त्रीको दबाबमा प्रधानमन्त्रीले गलत निर्णय लिए । वित्तीय अपचलनको मतियार हुन नपाएको, निजी स्वार्थसम्बद्ध व्यवसायीक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र सम्हाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धनबाटै उठीरहेको बेला अर्थमन्त्री कै दबाबमा आफ्नो असफलता ढाक्न गर्भनर निलम्बन गरिएकामा कुनै शंका छैन ।

अघिल्लो सरकारबाट नियुक्त भएकै कारण दक्ष र इमानदार राष्ट्रसेवक सरकारको कोपभाजन भएका दर्जनौं घटना छन् ।

गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ ।

(आइतबार नेकपा एमालेसम्बद्ध ३ पूर्वअर्थमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनमा खतिवडाले व्यक्त गरेको मन्तव्यको सार ।)

GBIME

प्रतिक्रिया दिनुहोस्