Skip to content
Shikhar Insurance
National Life

अर्थतन्त्रमै अस्थिरता निम्त्याउने हो कि भन्ने डर छ, निजी क्षेत्रले फाइदा मात्रै नहेर्नुस्

Hyundai
NCELL
NIMB

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । हामीले बुझनु पर्ने कुरा भनेको नेपालको समग्र अर्थतन्त्र र विश्व अर्थतन्त्र कहाँ कसरी गइरहेको छ ? कोभिडको असरलाई कसरी रेस्पोन्स गरिरहेको छ ? भन्ने नै हो ।

कोरोनापछि आएका अन्य प्रकारका समस्याहरु जसमा रसिया र युक्रेन युद्धले विश्वमा खाद्य संकट, विश्व भरी नै तनाबको अवस्था हामीले देखिरहेका छौं । भने नेपालमा पनि त्यसको प्रभाव केही मात्रामा परिरहेकै छ । विषेश गरी रसिया र युक्रेनको युद्धको प्रभावले नेपालमा पनि इन्धन अभाव देखिन थालेको छ । मूल्य वृद्धि भैरहेको छ, विश्वभर खाद्यान्न संकटको अवस्था उत्पन्न भएका छन् ।

सबैलाई थाहा नै भएको कुरा हो की नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ । यस्तो अवस्थाको सिर्जना खासगरी बाह्य क्षेत्रबाट भएको हो । अहिले हामीलाई बाह्य क्षेत्रको स्थायित्व सबैभन्दा ठुलो चुनौती छ । यसले बैंकिङ क्षेत्रलाई प्रभाव पार्ने कुरा त छदैछ तर, समग्र अर्थतन्त्रमै अस्थिरता निम्त्याउने हो कि भन्ने डर र चिन्ता हामी माझमा छ ।

यसलाई सम्बोधन गर्न राज्यको तर्फबाट होस् या निजी क्षेत्रको तर्फबाट पहल भइरहेका छन् । यी सहयोग र पहल निरन्तर हुनेछन् भन्ने अपेक्षा सरकार र राष्ट्र बैंकमा रहने पदाधिकारीहरुले राख्छौं ।

निजी क्षेत्रका साथीहरुलाई मेरो विषेश आग्रह, पहिले हामीले सिस्टमलाई ठाँउमा राख्नु पर्छ । पहिले अर्थतन्त्र स्थिर हुनुपर्छ र त्यहाँ स्थायित्व हुनु पर्छ । त्यसपछि मात्र हामी सबै अटाउँछौं । हामी सबैले आ–आफ्नो ठाँउमा काम गर्न पाउँछौं । समग्र बृहत अर्थतन्त्र नै अस्थिर भयो भने त्यसभित्र रहेर हामीले काम गर्दा धेरै प्रकारका समस्याहरु आउन सक्छन् ।

हामीले आ–आफ्नो क्षेत्रलाई लक्षित गर्दै मेरो क्षेत्रलाई फाइदा पुग्ने गरी मौद्रिक नीति आइदिओस्, सरकारले पनि त्यही अनुसारको पोलिसी ल्याइदिओस् भन्ने भाव नराख्नु होला । तर पनि निजी क्षेत्र भनेको नाफाको हिसाब किताव गरेर चल्ने भएकाले आफ्ना फाइदा हेरेर सुझाव दिनु स्वाभिक नै हो । निजी क्षेत्रले नाफा नघटोस् वा व्यवसाय घाटामा नजाओस् भनेर सोच्ने विषयलाई हामीले अन्यथा लिएका छैनौं ।

तर, हामीले नीतिहरु बनाइराख्दा खेरी समग्र अर्थतन्त्रको लागि के कुरा आवश्यक छ ? कसरी हामीले स्थायी अर्थतन्त्र निर्माण गर्न सहयोग गर्न सक्छौं । भोलीका सम्भावित जोखिमबाट बचाउने विषयमा केन्द्रित भएर नीति निर्माण गर्ने हो ।

आगामी दिनमा हामीले त्यसरी नीति निर्माण गरी रहँदा हिजोका दिनमा निजी क्षेत्रसँग ‘ग्रास रुटमा काम गरेको अनुभव पनि छ । तपाईहरुले उत्पादन गरिरहेको सामान उपभोक्तासम्म पुर्याउन के समस्या छ, हामी सबैलाई थाहा छ ।

उत्पादनजन्य उद्योगहरुलाई कच्चा पदार्थ, श्रमिकदेखि लिएर उत्पादनका प्रकृयामा के कस्ता समस्याहरु छन्, सरकार र राज्यका अन्य निकायहरुले कहाँ सहयोग गर्दा सहज हुन्छ भनेर सुभाव पनि आएका छन् । यसअघि पनि सहयोगको नीति राष्ट्र बैंकले लिएकै हो । राष्ट्र बैंकले कोभिडको समयमा हदैसम्मको सहुलियत पनि दिएकै हो । केही सहुलियतलाई बिस्तारै हटाउँदै लगिएको छ भने केहि अहिले पनि निरन्तर छन् । हामीले यसबीचमै बैंक रेटलाई ५ प्रतिशतबाट ७ प्रतिशत बनाएका हौं, एसएलआरमा पनि परिवर्तन गरेका छौं ।

अर्थतन्त्रका सुचांकहरुले आगामी दिनमा हामी अझै सजक हुनुपर्ने देखाइरहका छन् । त्यसैले के गर्दा हामीले यी सुचांकहरुलाई ठाँउमा ल्याउन सक्छौं ? भन्ने नै हाम्रो पहिलो ध्यानमा छ ।
हाम्रो मुख्य समस्या भनेको उपभोग नै हो । अर्थतन्त्रलाई चलायमान बनाउन प्रोत्साहन गरिरहँदा ठुलो मात्रामा पैसा आयातमा बाहिरी रहेको छ । त्यसको असर विदेशी मुद्रा सञ्चितीमा देखिएको छ । मौद्रिक नीतिमा प्राप्त सुझावलाई यी सबै सुचांकलाई नकारात्मक दिशामा धकेल्न नदिने विषयलाई ध्यान दिँदै सम्बोधन गर्छौं ।

त्यसैले हामीले आ–आफ्नो ठाँउबाट सहनुपर्ने पनि हुनसक्छ । नियामकको नाताले मैले नै सहनु पर्ने हुन सक्छ भने बैंकको ग्राहकको नाताले निजी क्षेत्रले सहनु पर्ने हुन्छ । बैंकहरुले पनि सहनु पर्ने हुन्छ । राज्यको स्रोत अर्थात् राजश्व घट्न सक्छन्, त्यो विषयमा राज्यले नै सहनु पर्ने हुन्छ ।

यति सहँदा हाम्रो अर्थतनत्र सही ठाँउमा जान्छ भने सहन गाह्रो मान्नु हुँदैन । यसमा हामी सबै तयार हुनु पर्छ । अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति आउने हो । अन्यथा महाप्रसाद अधिकारीलाई के लाग्छ त्यही अनुसारको मौद्रिक नीति आउने होइन ।
तपाईँहरुले जे माग्नु हुन्छ, त्यही मौद्रिक नीतिमा आउने हैन । त्यसैले हामी पोलिसी निर्माणमा एकदमै क्लियर छौं । हाम्रो टेक्निकल टिमले ‘वर्क आउट’ गरिरहेको छ ।

धेरै ग्राहकहरुले बैंकले ब्याजदर अस्वाभिक रुपले बढाएको गुनासो गर्नु भएको थियो । उहाँहरु कन्फ्युज हुन भए जस्तो लग्यो । राष्ट्र बैंकको नियम अनुसार बैंकहरुबाट ५ वर्षसम्मको लागि ‘फिक्स्ड टर्म लोनहरु फिक्स्ड ब्याजदरमा लिन पाउनु हुन्छ । यस्तो कर्जा उपयोग गर्ने धेरै साथीहरु छन् । आजको दिनमा अरबौं लोन लिने साथीहरु छन् । जसले साढे ६ प्रतिशत ब्याजदरमा ३ वर्षलाई ‘लक’ गरेर बस्नु भएको तथ्यांक मसँग छ । त्यस्तो कर्जाको प्रोडक्ट छ । सायद यहाँ केही साथीहरुलाई थाहा नभए जस्तो लाग्यो ।

राष्ट्र बैंकमा पनि केही गुनासो आइरहेका हुन्छन् । आजको दिनमा बैंकिङ क्षेत्रमा कर्जाको औसत ब्याजदर साढे ११ प्रतिशत पुगेको छ तर फिक्स्ड टर्म लोन साढे ६ प्रतिशतमा लिने ग्राहकहरु पनि छन् ।

अर्को भनेको बेसरेटमा फिक्स्ड प्रिमियमका ब्याजदर हुन्छन् । बैंकले एक पटक तोकेको प्रिमियम परिवर्तन गर्न पाउँदैनन् । प्रिमियम परिवर्तन भयो वा बैंकले बढायो भनेर गुनासो आइरहेका हुन्छन् तर, राष्ट्र बैंकको नीति अनुसार बैंकले कर्जा लिँदा लगाएको प्रिमियम परिवर्तन गर्न पाउँदैनन । तर बेसरेट भने बजारको रिभ्यु अनुसार थपघट गर्न पाउँछ ।

धेरै साथीहरुले प्रिमियम पनि १÷२ प्रतिशतबाट ३÷४ प्रतिशत बनायो भनिरहनु भएको छ । यदी त्यो साँचो हो भने राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा गुनासो गर्नुस् । राष्ट्र बैंकको नीति नियममा परिसकेको विषयमा भने हामीले कुनै सम्झौता गर्दैनौं । त्यस्ता गुनासोलाई राष्ट्र बैंकले सम्बोधन गर्छ ।

फेरी, ठुलो परिमाणमा चालु पुँजी कर्जामा लिनु भएको हो भने बैंकले बजारमा बढेको रेटमा बढाउँछ । त्यसमा ग्राहकले वा राष्ट्र बैंकले गर्न सक्ने केही ठाँउ छैन । यो विषयमा पनि व्यवसायीक समुदायमा जागरण नभएको जस्तो देखियो ।

यसबाहेक भारु ५ सय र एक हजारको विषयमा पनि यहा कुरा उठेका छन् । राष्ट्र बैंकले पनि सम्बन्धित ठाँउमा कुरा गरिरहेकै छ । तर, हामीले भारतको ‘रु पे कार्ड’लाई नेपालका सबै होटल रेस्टुरेन्टहरुमा चल्न मिल्ने बनाउन एसबीआई बैंकलाई त्यही अनुसारको एक्सेस र नेटवर्क बनाउन भनेका छौं । नेपाल भ्रमणमा आउने अधिकांश भारतिय पर्यटकले रु पे कार्ड बोक्छन् । त्यसले बैंकिङ प्रणालीमा रेमिट्यान्स ल्याउन पनि सहयोग गर्छ ।

यहाँ निजी क्षेत्रका धेरै साथीहरुले बजारबाट पैसा उठ्न नसकेको गुनासो गर्नु भएको थियो । बैंकको ऋण उठाउनलाई ब्याक लिस्टिङ लगायतका कानुनी व्यवस्था छ । तर, निजी क्षेत्रको रिकोभरीको लागि भने केही कानुनी व्यवस्था छैन । यो हाम्रो सिस्टमको सबै भन्दा गम्भिर समस्या बन्दै गएको छ ।

अहिले करिब ४७ खर्ब बराबरको कर्जा बजारमा गएको छ । त्यो कर्जा तपाई हामीले नै उपयोग गरेका हौं । कर्जा कति स्टकमा बसेको छ र कति प्रयोगमा छन् त्यो कसैलाई थाहा छैन । तपाई हामीले त उधारो खाएका छैनौं । उपभोक्ताले उधारो खाएका छैनन् । बैंकले कर्जा दिएको छ भने पैसा कहाँ गएर अड्कियो ? निजी क्षेत्रका व्यवसायी समुदायले नै आफ्नो क्रेडिट पोलिसी बनाएर व्यवसाय गर्नु पर्छ । कति महिनालाई कसलाई कति दिने भन्ने कुरा आफैले निर्धारण गर्नु पर्छ ।

(नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको पूर्व मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नर अधिकारीले व्यक्त गरेको धारणाको सम्पादित अंश)

 

GBIME

प्रतिक्रिया दिनुहोस्