Skip to content
Shikhar Insurance
National Life

अन्ततः एक हुने भए ग्लोबल आइएमई र बिओके, ठूलो बैंक, अब्बल प्रतिफलको प्रण

Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक हुने भएका छन् । दुबै बैंकको शुक्रबार सम्पन्न बिशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पास गरे ।

दुबै बैंकले एक बराबर एकको स्वाप रेसियोमा एक हुने निर्णय गरेका हुन् । सोही साधारण सभाले दुबै बैंकको लाभांश पनि पास गरेको छ । साथै ग्लोबलले आर्थिक वर्ष २०७८/७९ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र १०.६ प्रतिशत नगद लाभांश गरी जम्मा १३.६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

उता, बिओकेले पनि २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए । यसका साथसाथै, अध्यक्ष ढकालले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताए ।

साथै, बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले मर्जर पछि वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने प्रतिवद्धता गरेका छन् । आवश्यकताअनुसार बैंकिङ्ग क्षेत्रको विकास हुने बताउदै उनले ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुच पुर्याउन र बैंकिङ्ग लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने उनको भनाइ छ।

अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र सम्मृद्धिमा बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए । “मुलुकको आर्थिक रुपान्तरण र आर्थिक सम्मृद्धिको लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ । त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ,” उनले भने ।उनले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास प्रकट गरे ।

मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कूल निक्षेप ४०० अर्ब, कूल कर्जा ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् भने, बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु सहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्