Shikhar Insurance
National Life

नेपाल-भारत सिमामा थपिए पाँच बिओपी

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन ९, आईतवार २०:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ । पाँचवटै बिओपीको मेचीनगर नगरपालिका–५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

मेचीनगर—१ स्थित तिरिङ, भद्रपुर–३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो । यीसँगै जिल्लामा बिओपीको सङ्ख्या १७ पुगेको छ । एउटा बिओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक दाहालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बिओपी स्थापना गरी सकिएको छ । उनले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बिओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिए ।

नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले झापाकोे १४४ दशमलव दुई किलोमिटर क्षेत्रफलमा भारतसँगको खुला सीमा रहेकाले हातहतियार, लागुऔषध, मानव बेचबिखनलगायत आपराधिक गतिविधि न्यूनीकरण हुने, सीमाको उचित रेखदेख र राष्ट्रिय सुरक्षालाई मजबुत पार्ने काममा बिओपीहरुको महत्वपूर्ण योगदान रहने बताए ।

सीमा सुरक्षालाई ध्यानमा राखी सङ्घीय सरकारले २०७६ मङ्सिर ३० गते नै देशभरिमा ११४ वटा बिओपी थप्ने निर्णय गरेको थियो । सोहीअनुरुप नै जिल्लामा कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेटक्वार्टर चन्द्रगढीका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्