कञ्चनपुर । महेन्द्रनगरका ३१ वर्षीय सागर क्षेत्रीले युएईको अवुदाबीमा तीन वर्ष पेट्रोलपम्पमा काम गरे । त्यहाँ हुँदा मासिक डेढ लाखको कमाइ हुन्थ्यो । त्यो काम छाडेर स्वदेशमै काम गर्ने इच्छा शक्तिले उनी अहिले बेताबासको उद्योग चलाउँदै छन् ।
चार वर्षअघि बुबाको प्रेरणाबाट भीमदत्त नगरपालिका–१८ जानकी टोलमा बिन्ध्यावासिनी बेतबास लघु उद्योग स्थापना गरेका क्षेत्री अहिले वार्षिक ३० लाखको कारोबार गर्छन् । ५० को झाडुदेखि ८५ हजारको स्तरीय सोफासेटसम्म उत्पादन गर्छु”, सागरले भने ।
“अहिले विदेशको काम छाडेकोमा कुनै पछुतो छैन ।” उनले उद्योगबाट भएको कमाइले यहाँ आधा कट्ठा जमिन गोदाम घर बनाउन खरिद गर्नुका साथै दुई वटा मिनीट्रकसमेत किनेका छन् । दश जनालाई बेतबासको सामान बनाउने तालिम दिएर उद्योगमै रोजगारी दिएका क्षेत्रीले अहिले उद्योगको कारोबार दुई करोड पुगेको बताए ।
“घर परिवारसित बसेर आफ्नै ठाउँमा रोजगार मात्रै होइन अरुलाई समेत रोजगार दिन सकिँदो रहेछ”, उनले भने, “तर त्यसका लागि सरकारको प्रोत्साहन चाहिन्छ ।” एकल महिला, अपाङ्गता भएका व्यक्ति र आर्थिक अवस्था कमजोर भएकालाई रोजगारी दिएको बताउँदै उनले उद्योग सञ्चालनअघि २० जनालाई प्रशिक्षण दिएको जानकारी दिए ।
“यहाँ उत्पादन भएका सामग्रीको खपतका लागि सुदूरपश्चिम प्रदेश नै हाम्रो मुख्य बजार हो”, क्षेत्रीले भने, “यहाँ कच्चा पदार्थ डडेल्धुरादेखि झापासम्मबाट समेत आयात गर्छौं ।” उनकाे उद्योगमा छ प्रकारका झाडु, ह्याङगर, सोफा, कुर्ची टेबल, मुडा, डाइनिङ सेटलगायतका सामग्री उत्पादन हुने गर्छ ।
“प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेका सागर अहिले पिठो, तेल र बेसार मसला उद्योग सञ्चालनको तयारी छन् । “धेरै युवा खाडी मुलुकमा बिना सीप चर्को गर्मीमा श्रम बेचिरहेका छन्”, उनले भने, “सरकारले युवापुस्तालाई लघु उद्योगमा लाग्न प्रेरित गरे युवा शक्ति बाहिरिनु पर्दैन् ।”
प्रतिक्रिया दिनुहोस्