खलङ्गा । जुम्लाको गुठिचौर गाउँपालिका–५ धिताचौरस्थित वनस्पति उद्यान अनुसन्धान केन्द्रको रुपमा स्थापित हुन थालेको छ । साढे चार हेक्टर क्षेत्रफलमा फैलिएको उद्यान आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ भने हिमाली वनस्पतिको खोज तथा अनुसन्धान गर्न विज्ञ आउने क्रम बढेको छ ।
उद्यानभित्र करिब २०० औषधिजन्य जडिबुटी रोपिएको छ । अधिकांश व्यक्ति मनोरञ्जनका लागि उद्यानमा आउने गरेका छन् । काठमाडौँ, सुर्खेतलगायत ठाउँबाट आयुर्वेद कलेज र विभिन्न विज्ञान संकायका विद्यार्थी प्रयोगात्मक ज्ञानका लागि पनि आउने गरेको उद्यान केन्द्र प्रमुख रमेश बस्नेतले जानकारी दिए ।
उनले भने, “विद्यार्थी र विज्ञ २/३ सातासम्म बसेर वनस्पतिको पहिचान गरेर फर्कने गरेका छन् । उद्यानमा ६१ जातको रैथाने वनस्पतिको अनुसन्धान हुने गरेको छ ।” अहिले ‘सेतोभदुरी’ नामक वनस्पति रासायनिक परीक्षणका लागि काठमाडौँ पठाइएको छ । अतिस खेतीलाई प्रर्वद्धन गर्न उद्यानमै व्यवसायिक खेती गरिएको छ ।
उद्यानमा ४८ प्रजातिका जीवाणु, दुई वटा नर्सरी र तीन वटा प्रदर्शनी भू–भाग छन् । उद्यानमा हरेक वर्ष ‘प्लान्ट रिसर्च’ कार्यक्रम पनि सञ्चालन हुने गरेको केन्द्र प्रमुख बस्नेतले बताए । यसैबीच जुम्लाको पूर्वीभेगमा पर्ने गुठीचौर गाउँपालिकामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित भएको छ ।
गुठीचौर–३ गज्याङकोट गाउँस्थित शङ्कर बहुउद्देश्यीय माध्यमिक विद्यालयको छाना हावाहुरीले उडाएको हो । दुईकोठे भवनको छाना हावाहुरीले उडाएपछि २ लाख ५० हजार बराबरको क्षति भएको विद्यालयका प्रधानाध्यापक एकराज बुढाले जानकारी दिए । सो विद्यालयमा २५० विद्यार्थी अध्ययनरत छन् ।
रासस
प्रतिक्रिया दिनुहोस्