रुपन्देही । बुटवल उपमहानगरपालिका–९ की ३६ वर्षीय ललिता भुसाल ढाडको नसा च्यापिएको समस्याले विगत दुई वर्षदेखि ग्रस्त रहेका थिए । उनी उपचारका लागि बुटवलका विभिन्न अस्पताल र काठमाडौं पनि पुगिन् ।
महिनौँसम्म बसेर उपचार गरे पनि उनीलाई निको भइनन् । जब पछिल्लो समय उनले लुम्बिनी आयुर्वेद चिकित्सालयका बारेमा थाहा पाइन्, उपचारका लागि उनी त्यहीँ पुगिन्। करिब एक हप्ता अस्पतालमै बसेर उपचार गरेपछि अहिले उनीलाई आराम मिलेको छ । उनले भनिन् ‘अन्यत्र समय र पैसा दुवै खर्च भयो, तर यहाँ आइसकेपछि शरीर झम्झमाउने र दुख्ने समस्या हट्दै गएको छ, यहाँ हरेक प्रकारका रोगको उपचार हुने रहेछ, जडीबुटीयुक्त तेलद्वारा उपचार हुने रहेछ ।’
यस्तै तिलोत्तमा–१ कि पदमकुमारी पन्थ विगत दुई वर्षअघिबाट निरन्तर खोकीले ग्रस्त थिइन् । उनलाई जब केही खानेकुरा खान थाल्यो खोकी लागेर सकसै हुन्थ्यो । त्यसको उपचारका लागि बुटवल र चितवनलगायतका विभिन्न स्थान चहारेर बसेकी उनी पछिल्लो तीन महिनादेखि बुटवल–११ मा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा जान थालेकी छिन् । उनको पनि त्यहाँ उपचारपछि खोकी आधा सञ्चो भएको छ् । अहिले त्यहाँको उपचार र औषधिले धेरै राहत मिलेको उनको भनाइ छ ।
त्यसैगरी बुटवल–११ कालिका नगरकी ४९ वर्षीय अमृता पराजुली विगत छ वर्षदेखि निन्द्रा नलाग्ने समस्याबाट ग्रसित थिइन् । उनी दिनमा अत्यन्तै व्यस्त भए पनि रातिमा निदाउनै नसक्ने थिइन् । उपचारका लागि बुटवल र काठमाडौं पनि गएको तर कहीँ पनि उनको समस्या समाधान हुन सकेन । अहिले सो आयुर्वेद औषधालय आएपछि सञ्चो लागेको उनले बताइन् ।
शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो । यसमा ब्राह्मी, शङ्खपुस्पी, जटामासी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ । विशेष गरेर मनतातो औषधियुक्त तिलको तेल, दूध, तक्र ९मोही० आदि विभिन्न अवस्थाअनुसार प्रयोग गरिन्छ ।
शिरोधाराले एकसाथ धेरै कार्य गर्छ । शिरोधारा निधारको बीचमा दिइन्छ । यो तेस्रो नेत्रको स्थान हो र यसलाई ज्ञानको केन्द्र पनि भनिन्छ । तसर्थ यसले ज्ञानको क्षेत्र फराकिलो बनाउन तथा स्मृति सम्पन्न बनाउन मद्दत गर्छ । यसले शिरमा कमी रहेका तत्वहरुको पोषण गर्नाका साथै मस्तिष्कका केन्द्र तथा ग्रन्थीलाई सक्रिय पारी शरीरलाई सन्तुलित र स्वस्थ राख्छ । यति मात्र होइन, शान्त वातावरणमा निरन्तर स्निग्ध धारा प्रवाहले मनलाई शान्त गर्ने र आनन्दको अनुभूति दिलाउने अस्पतालका आयुर्वेद चिकित्सक योगेश ढकाल बताए ।
यसैगरी, बुटवल–११ देवीनगरकै सीतादेवी विश्वकर्मा हातको औँला दुखेर हैरान थिइन् । विगत २/३ महिनादेखि दुखाइ सहिरहेकी उहाँ पाँच दिनअघि सो अस्पतालमा पुगेर उपचार गराएकी छिन । उनको पनि दुखाइको समस्या केही समाधान हुँदै गएको छ ।
यसैगरी, तनहुँको रानी पोखरी गाउँपालिका–१ का जङ्गबहादुर श्रेष्ठ हाल बुटवल–११ मा बसोबास गर्थे । उनले अस्पतालको बारेमा कतैबाट जानकारी पाएर सो अस्पतालमा पुगेको बताए ।
बुटवल–१३ की जया थापा पनि तीन वर्षदेखि घुँडाको समस्या झेल्दै आएकी छिन । त्यहाँ उपचार गरी निको भएकाहरुबाट अस्पतालका बारेमा थाहा पाएपछि जया पनि त्यहीँ पुगेको उनले बताइन् ।
यसैगरी, बुटवल–११ की इन्द्राकुमारी विकले पनि अरूका विभिन्न रोग निको भएको थाहा पाएर त्यहाँ पुगेको बताइन् । हात निरन्तर दुई महिनादेखि दुखिरहेकाले सञ्चो हुने आशाले सो अस्पतालमा सेवा लिन पुगेको उनी नयाँ बिरामी थिइन् ।
ललिता, पदम कुमारी, अमृतालगायत माथिका पात्र केही उदाहरण मात्र हुनुहुन्छ । विभिन्न रोगले ग्रस्त भएका बिरामी बुटवल–११ मा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा पुगेपछि निकै राहत भएको बताउँछन् । यो अस्पताल र अस्पतालले दिने सेवाप्रति पछिल्लो समय नेपालीसँगै भारतीय नागरिकको समेत विश्वास बढ्दै गएको पाइन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा कूल ४० हजार ७८५ बिरामीले सेवा लिएको अस्पतालको तथ्याङ्कमा छ । यसमध्ये २२ हजार ३२७ पुरुष थिए भने १८ हजार ४५८ सेवा लिएका महिलाको सङ्ख्या हो । यहाँ दुईवटा ओपिडीबाट दैनिक ४० देखि १६० जनासम्म बिरामीले सेवा लिने गरेका छन्भने थेरापीतर्फ ३० जनाले सेवा लिने गरेको अस्पतालले जनाएको छ ।
त्यसैगरी, यहाँ नेपाल–भारत सीमावर्ती क्षेत्रका साथै लखनऊबाट समेत भारतीय नागरिकले यस अस्पतालबाट उपचार सेवा लिएका छन् । त्यसमध्ये विगत एक वर्षको अवधिमा उपचार गराएका भारतीय बिरामीको जम्मा सङ्ख्या १५१ रहेको छ । त्यसमध्ये ओपिडीबाट ११३ जनाले सेवा लिएको अस्पतालका आयुर्वेद चिकित्सक ढकालको भनाइ छ । जसमा महिलाहरुको सङ्ख्या ६४ र पुरुषको सङ्ख्या ४९ रहेको छ ।
त्यसैगरी, भर्ना भएर उपचार गराएका ३८ भारतीय बिरामीहरुमा महिला २१ र पुरुष १७ रहेका छन् । रुपन्देहीको बुटवल–११ मा रहेको १५ शय्याको सो चिकित्सालयले परम्परागत आयुर्वेद उपचार पद्धतिमार्फत यस क्षेत्रको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । पञ्चकर्म विशेष अस्पतालका रुपमा चिनिने यो चिकित्सालय लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयअन्तर्गत सञ्चालित छ ।
वि.सं २०४३ मा लुम्बिनी आयुर्वेद औषधालयको रूपमा स्थापना भएको यो संस्था २०७५ सालमा लुम्बिनी प्रदेश सरकारद्वारा नाम परिवर्तन गरी लुम्बिनी आयुर्वेद चिकित्सालय बनाइएको हो । अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गए पनि जनशक्तिको चरम अभाव रहेको छ । अस्पतालले दिने सेवा दिनहुँ प्रभावकारी बन्दै जाँदा चिकित्सकलाई हम्मेहम्मे छ ।
वि.सं २०४३ कै दरबन्दीअनुसार अस्पताल सञ्चालन भइरहेको छ । विसं २०४३ मा सात जनाको दरबन्दीमा अस्पताल सुरु भएको थियो भने त्यो हालसम्म पनि कायम छ । अस्पताल पछिल्लो समय सबै प्रकारका कर्मचारी गरी ३२ जनाबाट निरन्तर सञ्चालनमा छ ।
अस्पतालमा औषधि अभाव र शल्यक्रिया विभागको अभावले चुनौती थपिएका छन् । नि:शुल्क प्रदान गरिने औषधिका लागि बजेट अभाव रहेको अस्पतालको गुनासो छ । यसका बाबजुद पनि बिरामीलाई गुणस्तरीय सेवा दिन चिकित्सालय कटिबद्ध रहेको चिकित्सकहरु बताउँछन् ।
अत्याधुनिक उपकरण र वैज्ञानिक अध्ययनको प्रयोगमार्फत मौलिक आयुर्वेद चिकित्सा पद्धतिलाई प्रवर्द्धन गर्दै लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीको स्वास्थ्य सेवा क्षेत्रमा अग्रणी संस्था बन्न सफल हुँदै आएको चिकित्सकको दाबी छ । यसको सेवा विस्तार, सामुदायिक संलग्नता र भविष्यका योजनाहरूले यस क्षेत्रका बासिन्दालाई स्वस्थ तथा सन्तुलित जीवन बिताउन थप सहयोग पुर्याउने अपेक्षा गरिएको चिकित्सालयका निमित्त कार्यालय प्रमुख गणेशप्रसाद सापकोटाले बताए ।
आयुर्वेदको पञ्चकर्म पद्धतिलाई अघि बढाउन चिकित्सालयले अनुगमन गर्नेगरी रुपन्देहीका चार पालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन् । सैनामैना, लुम्बिनी सांस्कृतिक र देवदह नगरपालिका तथा सियारी गाउँपालिकामा आरोग्य केन्द्र सञ्चालनमा छन् ।
यसैगरी, रुपन्देहीका छ पालिकामा स्थानीय तहले हेर्ने गरी र चिकित्सालयकै अनुगमन हुनेगरी आयुर्वेदिक औषधालय सञ्चालन भइरहेका छन् । तिलोत्तमा नगरपालिका तथा गैडहवा, मायादेवी, कोटहीमाई, कञ्चन र शुद्धोधन गाउँपालिकामा सञ्चालन भइरहेको कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।
यस विषयमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले अस्पतालको सेवा अझ प्रभावकारी बनाउन अस्पतालको थप भवन बन्दै गरेको बताए । उनले अस्पतालको सेवा थप प्रभावकारी बनाउन मन्त्रालय लागिपरेको र यसका लागि बजेटसमेत विनियोजन गरेको जनाए ।
प्रतिक्रिया दिनुहोस्