काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३९९ अर्ब ८१ करोड (६.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४४३ अर्ब ८ करोड (७.८ प्रतिशत) ले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११.४ प्रतिशतले बढेको छ । २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमश: ५.५ प्रतिशत, ३५.९ प्रतिशत र ५०.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ५.० प्रतिशत, २९.१ प्रतिशत र ५९.० प्रतिशत रहेको थियो ।
२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ । २०८१ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ३५.७ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.३६८ अर्ब ६८ करोड (७.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२२५ अर्ब २४ करोड (४.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको छ ।
२०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ६३.७ प्रतिशत र ३६.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले, विकास बैंकहरुको ४.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.५ प्रतिशतले बढेको छ । २०८२ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ ।
२०८१ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १२.१ प्रतिशत र ६८.५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ५.१ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ३९.३ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५८.१ प्रतिशतले, हायर पर्चेज कर्जा ४.१ प्रतिशतले, नगद प्रवाह कर्जा ३.४ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा १२.९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्