Skip to content
Shikhar Insurance
National Life

फागुनमा पनि ब्याजदर घटाउँदै बैंक, पुँजी बजारलाई राहत

Hyundai
NCELL
NIMB

काठमाडौं । बाणिज्य बैंकहरुले फागुन महिनामा पनि निक्षेपको ब्याजदर घटाउने भएका छन् । निक्षेपको वृद्धि र कर्जाको न्युन मागका कारण बैंक तथा वित्तिय संस्थाहरुले फागुनमा पनि ब्याजदर घटाउन लागेका हुन् । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेप थुप्रिरहेको छ भने कर्जाको माग ज्यादै न्युन छ ।

पुँजी कोष पर्याप्तता अभावमा बैंकहरुले चाहेर पनि कर्जा विस्तार गर्न सकिरहेका छैनन् । ‘बजारमा कर्जाको माग पनि छैन्, निक्षेप भने यथेष्ठ मात्रामा उपलब्ध छ, फेरि क्यापिटल एडेक्वेसीका कारण अधिकांश बैंकहरु कर्जा लगानी बढाउन सक्ने अवस्थामा पनि छैनन्, यस्तो अवस्थामा फागुनमा पनि ब्याजदर घटाउनुको विकल्प छैन् ।’ एक बाणिज्य बैंकका सीईओले सिंहदरबारसँग भने । यसपाली पनि निक्षेपको ब्याजदर १० प्रतिशतकै हाराहारीमा घट्न सक्ने अनुमान पनि ती सीईओले लगाए । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुले कर्जाको ब्याजदर नै एकल अंकमा झारिसकेका छन् ।

नेपाल राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा आगामी महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुले अघिल्लो महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा अधितम १० प्रतिशतले बढाएर वा घटाएर नयाँ ब्याजदर प्रकाशित गर्न सक्नेछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका सीईओ सुनिल केसीले पनि फागुन महिनाका लागि निक्षेपको ब्याजदर घटेर आउने बताए । ‘निक्षेपको सप्लाई बढी छ, बजारमा ऋणको माग कम छ, त्यसकारण पनि अहिले ब्याजदर घट्छ, एनएमबि बैंकले ब्याजदर घटाउँछ’, नेपाल बैंकर्स संघका अध्यक्ष केसीले सिंहदरबासँग भने ।

हाल बैंक तथा वित्तिय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ४८ अर्ब पुगेको छ । जसमा बाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ५२ अर्ब रुपैयाँ कायम छ । कुल कर्जा लगानी ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ भने बाणिज्य बैंकहरुले मात्रै ४५ खर्ब एक अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । सीडी रेसियो ८०.३५ प्रतिशत कायम छ भने अन्तर बैंक ब्याजदर २.९९ प्रतिशतमा झरिसकेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ६ महिनामा रेमिटेन्स २५.३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको छ । कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड कायम छ ।

पुँजी बजारलाई राहत
बैंक तथा वित्तिय संस्थाहरुले निरन्तर ब्याजदर घटाउँदै लगेपछि पुँजी बजारका लगानीकर्तामा भने उत्साह थपिँदै गएको छ । बैंकमा निक्षेप राख्दा भन्दा पुँजी बजारमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना भन्दै उनीहरु पुँजी बजार तर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय पुँजी बजार चलायमान बन्दै गएको छ । बजारमा उतारचढावका साथ कारोबार रकममा पनि क्रमशः सुधार हुँदै गएको देख्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्